काँग्रेसको कचनकवल—सगरमाथा जागरण अभियान सुरू
कचनकवल । नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा नेपालकै होचो स्थानको पहिचान बनाएको झापाको कचनकवलबाट सन्सारकै अग्लो स्थान सगरमाथासम्मको जागरण अभियान सुरू गरिएको छ ।
नेपालको सबैभन्दा होचो भूभाग रहेको दक्षिणी झापाको कचनकवल स्तम्भबाट सो अभियान सुरू गरिएको हो ।
केचना—सगरमाथा जागरण अभियान नाम दिइएको पदयात्राको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले अभियानको शुभारम्भ गरेका थिए ।
अभियानमा कोशी प्रदेशका १४ जिल्लाका सभापति सहित नेता कार्यकर्ता सहभागी भएका छन् । अभियानमा स्थानीय स्तरका धेरै नेता कार्यकर्ताको उपस्थिति समेत रहेको थियो ।
सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए ।
उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, सम्वृद्धिको आधार, जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्देश्य राखेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
अभियानले नेपालको होचो भूभाग कचनकवलको पहिचान र समग्र विकासलाई समेत अगाडि बढाउन सहयोग पुग्ने बिश्वास राखिएको छ । अभियान सात महिनासम्म चल्ने छ ।
‘कोशी प्रदेशका १४ वटै जिल्लामा अभियानअन्तर्गत कार्यक्रम हुने छन्’ सभापति थापाले भने,‘कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षहरूको महत्वलाई अभियानका क्रममा उजागर गरिनेछ, समग्र प्रदेशको विकास, एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने हाम्रो अपेक्षा हो ।’
संगठन सुदृढीकरण, पार्टीमा गुट–उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजवुत र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने सभापति थापाको बिश्वास छ ।
समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा नेपालकै होचो भूभागमा कचनकवल स्तम्भ रहेको छ । अभियान शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।