प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार गदाललाई
भद्रपुर । स्वर्गीय प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार २०८१ बाट झापा दमकका पत्रकार मनकुमार गदाल पुरस्कृत हुने भएका छन् ।
भदौ १५ गते वितरण हुने पुरस्कारबाट उत्कृष्ट राष्ट्रसेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोलेनिका झापाका लेखा अधिकृत कृष्णप्रसाद शर्मा लामिछाने पुरस्कृत हुने भएका हुन् ।
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजना गरेको रक्तदान कार्यक्रमको समापनको अवसरमा ती पुरस्कारको घोषणा गरिएको थियो ।
संगठनको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ११ जना महिला तथा ६६ पुरूषले रक्तदान गरेका थिए । रक्तदानबाट ७७ पिन्ट रगत संकलन भएको संगठनका अध्यक्ष केदार पोख्रेलले जानकारी दिए ।
रक्तदानका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापा शाखाले गरेको थियो ।
संगठनका झापा अध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठन कोशी प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, भद्रपुर नगर उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, संगठनका पूर्वकेन्द्रीय उपाध्यक्ष देवराज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगठनका सचिव कृष्ण सुवेदीले गरेका थिए ।