झापामा काठ तस्करी आधा घट्यो
भद्रपुर । झापामा आर्थिक वर्ष २०८०÷०८१ मा चोरी तस्करी नियन्त्रणका क्रममा प्रहरीले ६ सय ९१ क्युविक फिट अवैध काठ बरामद गरेको छ ।
गत आर्थिक वर्षमा झापा प्रहरीले सातवटा सवारीसाधन र संलग्न नौजनालाई ६ सय ९१ क्युविक फिट काठ सहित पक्राउ गरेको हो ।
झापाका विभिन्न स्थानबाट पक्राउ परेको अवैध काठ लिलामी प्रकृयामा लैजादा राज्य कोषमा ४० लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व समेत जम्मा भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को तुलनामा गत वर्ष काठ पक्राउ आधाभन्दा कम देखिन आउँछ । त्यो वर्ष प्रहरीले ९७ लाख ९४ हजार आठ सय दश रुपैयाँ मूल्य बराबरको दुई हजार चारसय ७२ क्युविक फिट काठ बरामद गरेको थियो । त्यसमा संलग्न १७ जना मानिस र २९ वटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको देखिन्छ ।
यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा प्रहरीले ४० लाख ५७ हजार पाँचसय ३६ रुपैयाँँ मूल्य बराबरको एक हजार दुईसय ६८ क्युविक फिट काठ बरामद गरेको थियो । १२ जना मानिस र १३ वटा सवारीसाधन त्यस वर्ष प्रहरीले नियन्त्रणमा लिएको थियो ।
काठ चोरी तस्करीका घटना अधिकाम्स राति र विहानको समयमा हुने गरेको प्रहरीको भनाइ छ । उत्तरी झापा तथा इलामका वनजंगलबाट अवैध रूपमा काटिने चिरान र गोलिया झापातिर तस्करी हुने गरेको छ । झापासँग सिमाना जोडिएको इलामका सीमावर्ती वन क्षेत्रबाट तस्करी गरी ल्याइएको अवैध काठलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले खटिने गरेका छन् ।
प्रहरीले सवैभन्दा बढी असोज महिनामा २ सय २२ क्युविक फिट काठ , त्यसमा प्रयोग भएको दुईवटा सवारीसाधन र संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । त्यसवापत १३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौंमा १ सय ३४ क्युविक फिट काठ बरामद हुँदा त्यसवापत १० लाख रुपैयाँ राजस्व जम्मा भएको कार्यालयको अभिलेखले देखाएको छ । भदौंमा अबैधरुपमा काठको काम गर्ने १ जना पुरुष र एउटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रावण महिनामा २ सय १९ क्युविक फिट काठ, २ वटा सवारीसाधन र ४ जना मानिस पक्राउ परेका थिए । बरामद काठबाट ७ लाख ७६ हजार ८० रुपैयाँ राजस्व जम्मा भएको थियो । मंसिरमा ९४ क्युविक फिट काठ ,२ वटा सवारीसाधन र २ जना मानिस पक्राउ पर्दा २ लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको छ ।
पुष महिनामा १५ क्युविक फिट काठ बरामद हुँदा ३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चैत महिनामा ३४ क्युविक फिट काठ नियन्त्रणमा लिँदा १ लाख २७ हजार तथा बैशाख महिनामा ७३ क्युविक फिट काठ, एउटा सवारीसाधन बरामद हुँदा २ लाख १९ हजार ४ सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । प्रहरीले बरामद सबै काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाउने गरेको छ ।
माथिको विवरण हेर्दा कुनै बेला जंगलको राजधानीका रूपमा परिचित झापा अहिले चुरे तथा चारकोशे झाडीको अवशेषबाट काठको अवैध तस्करी हुने जिल्लाका रूपमा चिनिन थालेको छ ।
वन समिति, डिभिजन वन कार्यालय जस्ता वन रक्षाको जिम्मेवारी लिएका निकाय भए पनि नियामक कार्यालयको विवरण हेर्दा झापामा हरेक वर्ष काठ तस्करी भइनै रहेको अवस्था छ । तस्करीमा माथिल्लो तहसम्म पहुँच बनाएका वन सम्बद्ध व्यापारिक गिरोह सहभागी भए पनि कामदार तथा तल्ला स्तरका ज्यामी मजदुर मात्र पक्राउ पर्ने गरेको पाइन्छ । पहुँचवाला तस्करको ठूलो परिणाम वा रकमको काठ र सवारी साधन पक्राउ परे बिच बाटोमै मिलाएर छोडिने घटना हुने गरेको प्रहरी प्रशासनलाई आरोप लाग्ने गरेको छ ।
झापामा पक्राउ परेका काठ मध्ये ८० प्रतिशत बढी उत्तरी क्षेत्रमा रहेको चुरेबाटै अवैध कटानी गरेर झापा हुँदै भारतीय क्षेत्रमा बेच्न ल्याइने क्रममा पक्राउ पर्ने गरेको पाइन्छ । भेटिएका वा देखिएका बाहेक ठूलो परिणाममा चुरेको वन फडानी भइरहेको अवस्था छ ।