झापामा मानव—हात्ती द्वन्द्व अन्र्तगत ६ जना मानिस ४ वटा हात्तीको ज्यान गयो
भद्रपुर । झापामा आर्थिक वर्ष २०८०÷०८१ मा मानव—हात्ती द्वन्द्व अन्र्तगत ६ जना मानिस ४ वटा हात्तीको ज्यान गएको छ ।
मानव—हात्ती द्वन्द्व अन्र्तगत एक वर्षको अवधिमा झापामा चार वटा हात्ती र ६ जना मानिसको मृत्यु भएको हो ।
यस अवधिमा हात्तीको आक्रमणबाट झापामा १४ जना मानिस घाइते भएको वन डिभिजन झापाको विवरणले देखाउँछ ।
डिभिजन वन कार्यालय झापाको विवरण हेर्दा झपामा मात्र मानव–हात्तीबीचको द्वन्द्वमा परी २०६८ सालयता हात्तीको आक्रमणमा परी ६६ नेपाली र सात विदेशी नागरिकले ज्यान गुमाए भने २४ वटा हात्तीलेसमेतले ज्यान गुमाउनु परेको छ ।
दैनिक मजदुरी गरी खाने मानिसहरूलाई नै हात्तीले निशानामा पार्ने गरेको समेत देखिन्छ । हात्ती आक्रमणमा पर्नेहरू चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै गर्दा र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणले देखाउछ । अर्थात कृषि कर्ममा रमाउने श्रमजीवि नागरिक नै हात्ती आक्रमणमा परिरहेका छन् ।
हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मार्ने गरेको घटना स्थलगत मुचुल्का विवरणले देखाउँछ । विगतमा भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १८ वटा यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । यस हुलको संख्या बढेर १८ वटा जति भइसकेको छ । यिनीहरू पनि विभिन्न झुण्ड बनाएर बाहुण्डाँगीदेखि कचनकवलसम्मका कृषि उर्वर क्षेत्र आसपास चरिचरण गरिरहेका छन् ।
झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत रोकिन सकेको छैन । हात्तीले आक्रमक भएर मानिसलाई कुल्चेर मार्ने गरेको छ भने मानिसले सुरक्षाका लागि लगाएको विद्युतीय तारबारमा परेर धेरैजसो हात्तीको ज्यान जाने गरेको पाइन्छ ।
यकिन कागजी विवरणले सवै खुलाउन नसके पनि झापामा वि सं २०४१ सालबाट हात्ती र मान्छे बीच प्रत्यक्ष द्वन्द्व सुरू भएको स्थानीय स्तरका अग्रज व्यक्तित्वहरू बताउने गर्दछन् ।
तर, हात्तीलाई मानिसले पासोमा पारेर मारिरहँदा अहिलेसम्म कसैमाथि पनि कार्वाही हुन सकेको छैन । मानव–हात्तीबीचको द्वन्द्वमा अपराध बढिरहँदासमेत कार्वाही गर्न नसक्नु वन्यजन्तुको संरक्षणप्रति प्रहरी प्रशासनको लाचारीपन देखिने गरेको छ ।
पछिल्लो पटक झापा, २०८१ असार १३ मेचीनगर नगरपालिका ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा जवान हात्ती मृत फेला परेको थियो । के कारण हात्ती मारिएको भन्ने नखुले पनि विद्युतीय तारमा परेर करेन्टका कारण हात्ती मरेको अनुमान गरिएको थियो ।
झापाको भारतसित जोडिएको उत्तरी नाका बाहुनडाँगी हुँदै भारतबाट नेपालमा हात्ती प्रवेश गर्ने मुख्य गौडा रहने गरेको छ । जहाँबाट चरिचरणका लागि दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरू नेपाल पस्ने गर्छन् ।
यस समस्यालाइृ न्युनीकरण गर्न सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोग समेत गर्ने प्रयास थालिएको छ । हात्ती समस्या केही हदसम्म कम हुने विश्वास लिएर नेपालमै पहिलो पटक हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा २०८१ असार २१ गतेबाट सञ्चालनमा ल्याइएको हो । एपमार्फत हात्ती आएको संकेत कसैले गरेमा जडित साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् । हात्तीको आक्रमण वा क्षतिबाट बच्न साइरनले सचेतना प्रदान गर्ने विश्वास राखिएको छ ।
झापामा पछिल्लो समय हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि प्रभावित क्षेत्रबाट बसाइ सर्नेको संख्या समेत बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नभएको भन्दै दक्षिणी ग्रामीण झापाली घना बस्ती भएका बजारतिर बसाइ सर्न थालेका छन् । जंगल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइ दिने तथा बोट विरुवा र जनवारमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि हात्ती नियन्त्रण गर्न स्थानीय जाग्राम बस्नु पर्ने बाध्यतामा छन् ।
स्थानीय लोकबहादुर कुँवरका अनुसार जिल्ला वन कार्यालयको गस्ति टोलीले बस्तीमा हात्ती प्रवेश गरेपछि हात्ती धपाउन स्थानीयलाई सहयोग गरिरहेको भए पनि समस्या हल हुन सकेको छैन । जंगली हात्ती नियन्त्रणका लागि दीर्घकालिन योजना नआउँदा स्थानीय त्रसित भएर बस्न बाध्य रहेको उनको भनाइ छ ।