दोश्रो पटक झापा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

भद्रपुर । झापा जिल्लाले सरकारले तोकेको मापदण्ड पूरा गरेको भन्दै पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषित भएको छ ।
दोश्रो पटक जिल्ला खोप समन्वय समिति झापाले सरकारी सूचक पार गरेको ठहर गर्दै झापा जिल्लालाई पूर्णखोप सूनिश्चित जिल्ला घोषणा गरेको हो ।
घोषणा कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले गरेका थिए भने सो अवसरमा पूर्णखोप अभियानमा योगदान दिने महिला स्वास्थ्य स्वयमसेविकाहरूलाइृ सम्मान समेत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यलय झापाका प्रमुख रमेश बाराकोटीले प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाका २८७ वटा खोप केन्द्रबाट हरेक महिना ३३० खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिएको जानकारी गराए । २०७५ साल असार २७ गते पहिलो पटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउदै यो कार्य निरन्तर चलिरहने स्वास्थ्य प्रमुख बाह्रकोटीको भनाइ छ ।
झापाका १५ वटै स्थानीय तहबाट पूर्ण खोप प्राप्त गरेका ५ बर्ष मुनिका नियमित खोप छुट ६३४ बालबालिकासहित जम्मा १६ देखि ५९ महिना सम्मका ३९ हजार ४८८ जना बालबालिकालाई पूर्ण खोप लगाइएको बताइएको छ । कार्यक्रममा झापाका १५ वटै पालिका, उत्कृष्ट स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविकलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो भने ६० बर्ष माथिका २६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई नगद २० हजार सहित प्रशंसा पत्रले सम्मान गर्दै विदाइ समेत गरिएको थियो । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।