चारआलीमा २० हजार जना सर्पदंशका विरामीको उपचार

भद्रपुर । झापाको पहिलो र स्तरीय उपचार सेवा प्रवाह गर्ने पहिचान बनाएको सर्पदंश उपचार केन्द्र चारआलीले स्थापनाको दुई दशकमा २० हजार बढी विरामीको सफल उपचार गरेको छ ।
मेचीनगर नगरपालिका–१३ चारआली स्थित नेपाली सेनाको कम्पाउण्डमा रहेको सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई सर्पको विष मुक्त गर्दै अकाल मृत्युबाट बचाएको हो ।
नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा छिमेकी मुलुक भारतको पश्चिम बंगालका दार्जीलिङ, सिलीगुढी, बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन् ।
यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएका कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यले ध्यान दिनुपर्ने बताउँछन् ।
उनका अनुसार केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको छ । आफ्नो ब्यारेकभित्र रहँदै आएको यस उपचार केन्द्रलाई सेनाले विसं २०६० चैत ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो ।
त्यसअघि सैनिकहरूलाई सर्पले डसेमा शीघ्र उपचार गर्न ब्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि ब्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।
मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्नेगरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि तत्कालीन चन्द्रगढी गाविसका अध्यक्ष दुर्गा भट्टराईको नेतृत्वमा उपचार केन्द्रका लागि सहयोग जुटाउने अभियान चलेको थियो ।
उनकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने कार्य गर्यो । उपचार केन्द्र मानिसहरूको जीवन बचाउने थलो बन्दै गएको छ ।
विगतमा झापाका बिरामी धेरै हुने गरेकामा पछिल्लो समय इलामका बिरामी बढेको उपचार केन्द्रको विवरणले देखाउाछ । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१, जेठमा एक सय २३ र असारमा ९५ जनाले उपचार सेवा लिएका छन् ।
विसं २०८० मा सर्पले डसेका ९७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेका अध्यक्ष भट्टराईले जानकारी दिए ।
पहाडमा गुर्बे र हरेउ सर्प विषालु हुन्छन् भने तराईमा गोमन र करेत अत्यधिक विषालु हुन्छन् । उपचार नपाएमा गोमनले डसेको केही घण्टाभित्रै मानिसको मृत्यु हुन सक्छ ।
बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउँछन् ।
केन्द्रका अध्यक्ष भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएका बताउछन् ।
केन्द्रले बिरामीको दर्ता शुल्क रु.१०० र साधारण उपचार सेवा शुल्क रु. ६०० मात्र लिने गरेको छ ।
उपचारका लागि बस्दा बेड शुल्क रु १००, ५ भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम) को रु १ हजार ५ सय र ५ भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु ३ हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।
विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्दै आएको समेत जनाइएको छ ।
“समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उनले भने । कोशी प्रदेशमा १३ सर्पदंश उपचार केन्द्र रहेकामा यस जिल्लामै चारवटा रहेका छन् । चारआलीस्थित सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो