झापामा गाई गोरू तस्करी बढे पनि सरोकारवाला बेखवर
भद्रपुर । खुल्ला सिमानाको दुरूपयोग गर्दै दक्षिणी झापामा गाइ गोरू तस्करी बढ्दै गइरहेको छ ।
पूर्वी पहाड तथा पश्चिम नेपालदेखि संकलन गरेका गाई गोरू तस्कर समूहले झापाको गौरीगञ्ज, टागनडुब्बा, घेरावारी, केचना, पाठामारी, पृथ्वीनगर, महेशपुर, घोडामारा, ज्यामिरगढी र बाहुण्डागी नाकाबाट विभिन्न झुण्ड बनाएर भारतिर तस्करी गरिरहेका हुन् ।
हरेक दिन ५– देखि १० गाडीसम्म जम्मा गरेर गाई गोरू ल्याउने समूहले सदरमुकाम भद्रपुरबाट दक्षिण घेरावारी र केचना नाका प्रयोग गर्न चारकोसे जङ्गल र स्थानीय देउनिया खोलाको उपयोग गर्दै प्रहरी प्रशासनको समेत सहयोगमा गाईको अबैध तस्करी गरेर भारत हुदै बङ्गलादेस लैजाने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
नेपाल सरकारले समेत प्रतिबन्ध गरेको गाई तस्करीलाई प्रहरी प्रसासनले आर्थिक चलखेलमा लैजान दिएको र यस बापत यी नाकाका लागि मासिक ३ देखि ५ लाख तथा स्थानीय युवाहरूलाई प्रति गाई १ हजार रुपैयाँको सेटिङ्ग बापत दिनेगरेको एक गाई गोरू व्यापारी स्वीकार गर्छन् ।
नेपालबाट यसरी लगिएका बुढा गाई गोरू भारत तथा बङ्ग्लादेश पुर्याई काट्ने गरेको विभिन्न सञ्चारमाध्यमहरूले बताउदै आए पनि नेपालमा झापाकै प्रतिष्ठित राजनैतिक पहुँचवालाहरूको मिलेमतोमा हल्दिवारी, धुलाबारी, कचनकवल, भद्रपुर हुँदै सयौं बुढा गाईहरू मासुकै लागि तस्करी भइरहेको छ । सरकारका प्रतिनिधि त बेखवर छन् नै हिन्दूवादको वकालत गर्ने पनि तैँचुप मँै चुप हुनुचाहिँ रहस्यमय छ ।