भ्रष्टाचार बिरूद्ध उभिन नडराऊँ
द्रोण अधिकारी गुयेली
वर्तमान नेपाली समाजको चित्रले नेपाल कतै झारी खाने बाटोमा लागेको त होइन ? भन्ने प्रश्न उठाइरहेको छ । आदर्श मानिएकाहरू नै समाज र देशको हित विपरित आचरण बिगारिरहेको अवस्था छ । नेपाली समाजको नेतृत्व गरिरहेकाहरू हरेक पटक कुनै न कुनै रूपमा भ्रष्ट आचरण बिरूद्ध धारे हात लगाएर बोलिरहेको सुनिन्छ तर, उनीहरूकै व्यवहारले भ्रष्ट आचरणको पालक पोषक उनीहरू नै हुन् भन्ने देखाइरहेको हुन्छ ।
लोभ र महत्वकाँक्षाका कारण नेपाली समाजमा हरेक वर्ष भ्रष्ट आचरण भएका व्यक्तिको संख्या बढ्दै छ । तिनै व्यक्तिहरू समाजको नेतृत्वमा पुगिरहेका हुन्छन् । बोल्दा एउटा र गर्दा अर्कै आचरण देखाएर विस्तारै समाजलाई नै भ्रष्टीकरणमा नराम्ररी छोड्ने गरेका छन् । यस्ता आचरण भएकाले देशको नेतृत्व गर्ने व्यक्तिलाई छिटोभन्दा छिटो प्रभाव पार्दा भ्रष्टाचारले देशको सिङ्गै अवयवलाई नियन्त्रणमा लिएर बन्धक बनाइसकेको अवस्था छ । तर, देशको कार्यकारी अधिकार सहित नेतृत्व गरिरहेका प्रधानमंत्री, उनका सहकर्मी र हरेक दलको नेतृत्वमा रहेका नेताहरू सुशासन र समृद्धिका भाषण गाइरहेकै छन् ।
यो श्रृङ्खला स्थानीय तह, प्रदेश तहमा पनि निरन्तर अनुयायीका रूपमा बढिरहेको अवस्था छ । तीन तहकै सरकार आफ्नै मादल, आफ्नै ढोलकका तालमा आफ्नै छन्द र लयका भाषण छाँटेर भ्रष्टाचारको बिरोधमा आवाज ओकले जस्तो गरे पनि वास्तवमा भ्रष्टचारीको संरक्षण भने निर्वाध गरिरहेका छन् । भाषणले मात्र देशमा समृद्धि र सुशासन ल्याउन सकिंदैन भन्ने भाषणकर्ताले बुझेका छन् वा छैनन् ? उनीहरू नै जानुन्, तर सत्य चाहिँ के हो भने भाषणले मात्र भ्रष्टाचरको अन्त्य संभव हुँदैनन् । आचरण र व्यवहार सुधार्दै भ्रष्टाचार बिरूद्ध कठोर कानून कार्यान्वयन गर्न कुनै पनि तहका नेतृत्व अगाडि सर्न सकेको अवस्था छैन । यसकारण भाषणवाजहरू जनतामा ढाँट कुरा भने पक्कै गरिरहेका छन् । उनीहरूको बोली र व्यवहारले देश अनि जनताको भलाइ हुने कुनै पनि काम भएको देखिदैन । कोही मिशन चौरासीको नाममा देश र जनता ढाँट्दै छन् भने कोही राज्य सञ्चालनका नाममा समृद्धि र विकास भन्दै कमिशनको खेल खेलेर दिउँसै रात पर्नेगरी ढाँटिरहेका छन् । यी सवै कृयाकलापसित कही न कही भ्रष्ट आचरण लुकेर बसिरहेको छ ।
नागरिकमा निराशा छ भन्ने तर के कारण निराशा बढिरहेको छ त ? उत्तर नबुझ्ने नेतृत्व रहेको वर्तमान नेपालको राज्य संयन्त्रमा भ्रष्ट आचरणले कब्जा जमाइरहेको छ । यही प्रबृत्ति नागरिकको निराशा हो । देशकै निराशाको श्रोत बनिरहेको भ्रष्ट आचरण के कारण हटाउन सकिदैन त ? यसको उत्तर नभेटिएसम्म नागरिकमा आशा पलाउन निकै कठिन छ । अहिले समाजमा भ्रष्टाचारको बिरोध गर्ने एक्लो वृहस्पति बन्नु पर्ने बाध्यता छ । यहाँ सही भन्दा गलत प्रवृत्ति शक्ति उन्मुख भएकै कारण भ्रष्टहरू बलशाली बन्दै गएको प्रष्ट छ ।
भ्रष्टाचार विभिन्न स्वरूपमा समाजमा निर्वाध घुमिरहेको छ ।
घुसखोरी, कमिशनखोरी, घोटालाबाजी, व्यक्तिगत फाइदाका लागि संवैधानिक कानुन, नीति र विधिविपरित लविइङबाजी, राजस्व छल्ने, मिलीभगतमा जस्तासुकै काम गर्ने, सेवा प्रवाहमा नगइ तलव– सुविधा भोग गर्ने प्रचलन नेपाली राजनीतिले नीतिगत आधारमा निरन्तर गरिरहेको अवस्था छ । काम गर्ने निमुखाहरूको मूल्याङ्कन छैन । श्रमजीविहरूको श्रमको सम्मान र उचित मूल्य पनि छैन । श्रममारा शोषकसित मिलिभगतमा श्रमिक मार्ने नीति चोर पालिरहेको अवस्था छ । तर पनि नेतृत्वमा रहेकाहरू भ्रष्टाचार बिरूद्ध कृतिम भाषणवाजी गरिरहेका छन् । उनीहरूकै कारण कालाधन्धेहरूसँग सेटिङबाजी, अनियमितताको प्रविधिबाट पेट भर्ने दुष्कर्म जस्ता थुप्रै फोहोर विषयहरूको समष्टिगत रूप भएर भ्रष्टाचार दिनप्रतिदिन समाजमा स्थापित भइरहेको छ । अथवा, नगर्ने काम गरेर लाभांश खाने छद्मजाल र प्रपंचको संक्षेपीकृत घिनलाग्दो काम भएर बसिरहेको भ्रष्टाचारी आचरण समाजमा धनको रूपमा इज्जत बन्दै छ । भ्रष्टाचारकै कारण देशको उन्नति नभएको तथ्य नेपाली राजनीतिले बुझेर पनि बुचपचाउँदा सन्सारका अति भ्रष्ट शासक भएको देशको पहिचान बोकेर नेपालीले हिडिरहनु परेको छ । पछिल्लो भ्रष्टाचार नियन्त्रण र सुशासनको अध्ययनले विगतभन्दा कम भ्रष्टचार भएको देखाए पनि नेपालको शुसाशनको अवस्था निराशाजनक देखिएको छ ।
भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२३’ को प्रतिवेदन अनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीबाट मुक्त हुन सकेको छैन । १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल कम भ्रष्टाचार र सुशासनको सूचीमा १०८ औं स्थानमा परेको छ । जुन गत वर्षको ११० औं स्थानमा थियो । यस पटक दुई अंकले सुधार गरेको भए पनि भ्रष्ट आचरणका कारण बिग्रिएको शुसाशनमा भने सूचाङ्क पार गर्न सकेको अवस्था छैन । राजनीतिमा पसेको पैसा मोहकै कारण शासन शैलीमा भ्रष्ट आचरण जीवित रहँदा नेपालको शुसानमाथि भ्रष्टाचारहावी भएको मान्नु पर्छ ।
सुशासन र समृद्धिको पहिलो शत्रु सिद्ध, भ्रष्टाचार मौलाउने लहर झन बढेको छ । स्वयम् सत्तारुढ तथा विपक्षी पार्टीसंबद्ध सांसदहरू नै संवैधानिक प्राविधाविरुद्ध प्रस्तुत हुन हिच्किाउँदैनन् । यस कार्यले बेथिति र भ्रष्टाचारहरू नमौलाएर के चाहिँ मौलाओस् त ? त्यसो भए भ्रष्टाचारमुक्त सुशासन र समृद्धिका सप्तरंगी भाषणहरूको वर्षा गराउँदै नेपालभित्र राजनीतिले साना–ठूला कसैले पनि विश्वासको चासो र रहर समेट्न सकिरहेका छैनन् । विगतले राजनीतिमाथि निकै ठूलो भरोषा राखे पनि वर्तमानले भ्रष्ट आचरण नभएका नेता वा नेतृत्व नै छैनन् भन्दैछ । नेपालको उन्नतिको प्रमुख बाधक भ्रष्ट आचरण रहेको सत्य नबुझेका नेता पनि छैनन् तर पनि आचरण सुधार गर्न तयार नहुनु विडम्वना हो । साच्चै नेपालको समृद्धि चाहने नेतृत्व हो भने आफू र आसेपासेमा रहेको भ्रष्ट आचार त्याग्नै पर्छ अनिमात्र समृद्धिको यात्रा देशले तय गर्न पाउने छ ।
ट्रान्सपरेन्सी नेपालले हरेक वर्ष भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सुझाव दिने गरेको छ । ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचार बढ्नुका चार मुख्य कारण औंल्याउने गरेको छ । दशकयता सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन नसकेको, सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेको, कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल गरेको र नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहीनता बढेको औंल्याउँदै ट्रान्सपरेन्सी नेपालले यसमा संसोधन हुनुपर्ने सुझाव दिएको छ । तर, सरकारमा जाने दल वा संसदमा नेतृत्व गर्ने कुनै पनि दलले भ्रष्टाचार नियन्त्रणमा निर्मम हुने हिम्मत गरेको अवस्था छैन । विगतदेखि परम्पराका रूपमा बढ्दै गएको भ्रष्टआचरण हटाउन राजनीतिक नेतृत्वले हिम्मत नगरेसम्म नेपालको छविमा सुधार हुने छैन । नीति र नियममा चल्नु पर्ने सरकार निर्मम नबनेसम्म नेपालमा देखिएको भ्रष्टाचार घटेर सुधारको वातावरण निर्माण हुने छैन ।
तीन तहका सरकार रहेको नेपालमा सवै तहका सरकारको हालत भ्रष्टआचरणबाट मुक्त नभएकै कारण सन्सारमा नेपालीले भ्रष्ट देशका बासिन्दाको पहिचान बोक्न बाध्य छन् । यस बाध्यात्मक अवस्था सम्झने नेपाली नागरिकको मनमा सरकारप्रति वितृष्णा बढ्न गएको हो । यस सत्यलाई राजनीतिले नजर अन्दाज गरेकै कारण देशमा थितिभन्दा विकृति बलवान बन्न सफल देखिन्छ । यसखाले अत्यचार बिरूद्ध हरेक सचेत नागरिकले पाखुरा बजारेर अगाडि बढ्न आवश्यक भइसकेको छ । देश छोडेर वा भागेर नेपालको शासन सत्ताको विकृति अन्त्य हुँदैन । यहीँ बसेर विकृति बिरूद्ध लड्न सके भ्रष्ट आचरण अन्त्य गर्न सहजै सकिन्छ । यस्ता सोच भएका सपूत नेपाली छोराछोरी नजन्मेका हुन् या अगाडि नआएका हुन् ? दीर्घ प्रतिक्षाले उत्तर पाउन सकेको छैन तर, पनि सवल राष्ट्र निर्माणका लागि अबचाहिँ सोच्नै पर्ने बेला आइसकेको छ । भ्रष्टाचार सहेर होइन प्रतिरोध गरेर देश र समाजको उन्नति गर्नै पर्छ ।
राजनीतिसित सम्बन्ध गाँसेर बसेको भ्रष्टाचार अब नामेट बनाउन किन डराउने ? यहाँ सेवाका नाममा या पेशाका नाममा भइरहेका खराव कृयाकलाप रोक्न विद्रोहको आवाज बलियो बनाउनै पर्छ । शिक्षा, स्वास्थ्य जस्ता समाज उत्थानका महत्वपूर्ण क्षेत्रका नाममा गिरोह खडा गरी माफियातन्त्र बनाउँदै भ्रष्ट आचरण संरक्षित हुँदा बाल्य कालबाटै पैसा मोह बढिरहेको छ । यही पैसा मोहले मानिसमा बिस्तारै भ्रष्टचारी प्रवृत्ति विकास हुँदा समाज र देश नै भ्रष्ट बाटोमा गइरहेको स्पष्ट छ । यस प्रवृत्ति रोक्न नलाग्ने हो भने कुनै दिन भ्रष्ट आचरण नभएका नेपाली भेट्न कठिन नहोला भन्न सकिन्न ।