समय सधैं उस्तै रहँदैन भन्ने भाव बुझ
हिन्दू दर्शनमा बहुप्रचलित एउटा कथन छ—एक महात्माले शिष्यहरूलाई वरिपरि राखेर भनेछन्, ‘एउटा यस्तो वाक्य बताऊ, जुन दुःखी मानिसले सुन्दा खुसी बनोस् र खुसी मानिसचाहिँ उदास बनोस् ।’ शिष्यहरूले बताउन सकेनन् । महात्माले भनेछन् ‘दुःख र सुख दुवै अस्थायी हुन्छन् । त्यसैले त्यो वाक्य हो– यो समय सधैं यस्तै रहँदैन ।’ यो शाश्वत वचन नेपाली राजनीतिले मनन गरेर अगाडिको यात्रा तय गर्नु पर्ने हो । यद्यपि राजनीतिक समय भनेको अनिवार्य बदलिने भित्ताको पात्रो जस्तो विलकुल हुँदैन । यसलाई बदल्न सूत्र जरूरी हुन्छ । संकल्प, दृष्टिकोण, एकता, सामूहिक चाल, मिहिनेत, त्याग र अन्तरविश्वास अनिवार्य छ । त्यसबाट शक्ति हासिल गरेर आत्मविश्वासलाई उचाइमा र अन्तरविश्वासलाई गहिराइमा जब राजनीतिले पुर्याउने अठोट गर्छ, तब देशले विकासको गति लिन्छ । आज पनि राजनीतिले सही गति नलिएकै कारण विकास आयोजनाका काम असारे झरीमा तीव्र छन् । दशकौंदेखिको यस समस्याले नेपालको विकास कागजमा जति राम्ररी भएको छ व्यवहारमा उतिनै कम्जोर अवस्थामा छ । माथिको कथनले भनेझैं समय सधैं उस्तै रहँदैन भन्ने भाव असारे विकास गर्ने राजनीतिले बुझेन । कार्तिकदेखि बैशाखसम्म सुनसान हुने विकासका काम जेठको रापतापको घमसँगै क्रमशः तीव्र हुन थालेपछि असारमा भ्याइ नभ्याइ गतिमा विगतदेखि वर्तमानसम्म उस्तै छ ।
संघीय लोकतान्त्रिक राजनीतिको मर्म र धर्म बुझ्न सत्ता राजनीतिमा पदासीनहरुलाई समय निकै लागिसकेकाले अहिलेसम्म अभ्यासकाल नै चल्दैछ । तर, कतिपय समयका कतिपय घटनापरक विषय हेर्दा र निरूपण गर्दा उनीहरुमा ‘चिल्लो पात’ देखिंदैन । पार्टीमा चलखेल गर्दाकै मानसिकता विद्यमान पाइन्छ –‘भदौमा आँखो फुटेको गोरू सधैं हरियै देख्छ’ भने झैं संघीय लोकतान्त्रिक व्यवस्थाको विभिन्न तहको जिम्मेवारीलाई आफ्नो पार्टीको अनुभव र आदर्श लादेर ‘सबैको हुन’–बाट मोड दिइरहेको पाइन्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका यस्ता क्रियाकलापले आम अपेक्षाको पूर्ति संभव हुँदैन । यो अनुभूति मेलैसित सबै तप्का र तहका नागरिकमा संक्रमण हुँदै जानु नै लोकतन्त्रका हकमा सबैभन्दा ठूलो चिन्ताको विषयमा पुगेको छ । स्थानीय सरकारको मर्यादा पाएका स्थानीय तहहरूमा कहीं–कतै कुनै पनि विकृतिले अलिकति टाउको उठायो भने त्यो धरातलीय जनताका आँखामा सिधा पर्छ र बिझाउँछ । यो सत्यलाई स्थानीय तहमा जनताबाट चुनिएर निर्णायक कुर्सीमा पुगेकाहरुले आत्मसात गरेनन् भने सिङ्गो लोकतन्त्रलाई जनताले फोस्रो नारा मात्र मान्नुपर्ने दुर्दिन पनि आउन सक्तछ । प्रदेश र संघीय सरकारमा बसेकाहरूले पनि यस भावना बुझेर ‘जनताका आँखामा बिझाउने’ भनेको के भन्नेसम्म त अधिकारमा पुगेका जननिर्वाचितहरूले बुझेकै हुनु पर्दछ । जनताका आँखा र अभ्यन्तरमा बिझाउने क्रियाकलापले निरन्तरता र क्रमिक विकास पायो भने त्यो देशको लोकतान्त्रि राज्यव्यवस्थाका लागि नै दुर्भाग्यपूर्ण हुनेछ । ‘लोक’ शब्द ‘आम जनता’–को पर्याय हो र लोकको कल्याण गर्ने तन्त्र संयुक्त भई ‘लोकतन्त्र’ शब्द बनेको हो । यसर्थ लोकतान्त्रिक अभ्यासद्वारा लोकको अपेक्षालाई उपेक्षा गर्ने क्रियाकलाप लोकतन्त्रका प्रयोक्ताहरुबाटै भयो भने त्यो आत्मघाती सिद्ध हुन्छ । नेपाली भौतिक पूर्वाधार विकासको वर्तमान चित्रले लोकतान्त्रिक आचरण र भावना समेट्न नसक्नु आजको दुर्दशा बुझ्न सकिन्छ । सहज समयमा विकास निर्माणका काम गरिदैनन् तर आर्थिक वर्षको अन्त्यतिर वजेट सक्न असहज समयमा विकासका काम गर्ने परम्परा पञ्चायतकालदेखि अहिलेसम्म उस्तै छन् । यो सवै राजनीतिले ल्याउन नसकेको परिवर्तनको मुहार हो । राज्य सञ्चालनको जिम्मेवारीमा पुगेकाहरूले अहिलेसम्म समय उस्तै र उही रूपमा रहँदैन भन्ने भाव नै बुझ्ने प्रयास गरेनन् । परिवर्तनका नारा त लगाए व्यवहारमा परिवर्तन गर्न सकेनन् । त्यसैको परिणाम स्वरूप आज पनि असारे विकास मौलाइरहेको छ ।