उदयपुरको गाइघाटमा मेडिकल कलेज स्थापना हुने
उदयपुर । साविकको सगरमाथा अञ्चलमा स्वास्थ्य पूर्वाधार अभावका कारण उपचार नपाएर मर्नु पर्ने बाध्यता रहेको भन्दै उदयपुरको गाईघाटमा मेडिकल कलेज स्थापना गर्ने माग पूरा गर्न तयार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
मेडिकल कलेज स्थापनाको माग लिएर गाइघाटबाट राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधि मण्डलसंग भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले यही वजेट मार्फत मेडिकल कलेजको अवधारणा ल्याउने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले उदयपुरमा यसअघिनै मेडिकल कलेज स्थापना गर्ने निर्णय भइसकेको जानकारी दिदै त्रियुगा नगरपालिकाले प्रस्ताव गरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने प्रष्ट पारे ।
त्रियुगा नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी बजेटको तयारी रहेको बेला ध्यानाकर्षण आएकाले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेज निर्माणको प्रक्रिया सुरु हुनेमा विश्वास दिलाएका छन् ।
त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्तकुमार बस्नेतले गाईघाटमा मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिका वडा नं. ४ स्थित फछ्र्यौट क्षेत्रमा ६३ बिगाहा जग्गाको व्यवस्थापन गरी मेडिकल कलेजका नाममा ल्याउन प्रक्रिया सुरु गरिसकिएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
यसैबिच उक्त सर्वपक्षीय सर्वदलीय प्रतिनिधि मण्डलको टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटगरी मेडिकल कलेज उदयपुरको गाईघाटमा स्थापना गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ ।
प्रतिनिधिमण्डल सँगको भेटमा अध्यक्ष ओलीले जनघनत्व, सदरमुकाम र जग्गा व्यवस्थापनको आधारमा गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्न उपर्युक्त रहेको बताए ।
संविधान सभा सदस्य तथा एमाले पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरी, नेपाली काँग्रेसका नेता विदुर बस्नेत, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, कोशी प्रदेश सांसद सम्झना तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका सभापति चित्र बहादुर कार्की, त्रियुगा नगरपालिकाका विभिन्न वडा अध्यक्ष सहितको टोलीले शिक्षा मन्त्री सुमना श्रेष्ठ, पूर्व शिक्षा मन्त्री अशोक कुमार राई, शिक्षा सचिव दीपक पाण्डेलाई पनि भेटेर ध्यानाकर्षण गराएको छ ।