झपामा बढ्दैै गइरहेको अबैध कारोवार रोक

झापा आयात निर्यात व्यापारमा पनि देशकै उत्कृष्ट जिल्लाका रूपमा चिनिन्छ । यहाँबाट संकलित राजश्वले देशको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्दै आइरहेको छ । पछिल्लो समय झापाका सिमावर्ती क्षेत्रमा अवैध कारोवार मौलाएउदै जाँदा नेपालका सिमा सुरक्षाको जिम्मेवारी लिएका प्रहरी प्रशासनमाथि शंका उब्जन थालेको अवस्था छ । सुरक्षा संयन्त्रले चोरी तस्करी नियन्त्रण प्रयास गरिरहेको दाबी गरे पनि मिलिभगतमा भारतबाट नेपाल तर्फ सुर्तीजन्य पदार्थ, कपडा, मेसिनरी पार्टपूर्जा, विभिन्न किटनासक रसायन, चप्पल जुत्ता जस्ता दैनिक उपभोग्य बस्तुहरू तथा लागु औषध अबैध बाटोबाट भित्रिरहेको अवस्था छ । जसको असर राजश्व संकलनमा देखिन थालेको छ । हरेक वर्ष राजश्व घट्दै जानुको पछाडि चोरी, तस्करी प्रमुख समस्या मान्न सकिन्छ । नेपालबाट अबैध बाटो हुँदै सुपारी, चुरोट, ओखर, विभिन्न कस्मेटिक आइटम, बहुराष्ट्रिय कम्पनीका विभिन्न उत्पादन, काठ लगायत सामग्री भारत तर्फ पनि गइरहेको सिमावर्ती क्षेत्रका स्थानीयले बताउने गरेका छन् । नेपालमा ल्याउन प्रतिबन्धित गरिएका रञ्जनीगन्धा, राजनिवास, गुट्खा, बिडी, तयारी खैनी, जस्ता सुर्तीजन्य पदार्थ अवैध रूपमा भित्रिने गरेको छ । यस्ता बस्तुका कारण जनश्वास्थ्यमा नकारात्मक प्रभाव त छदैछ । राजश्व छलेर व्यापारिक समूहले नेपाल ल्याएका यस्ता सामग्री बजार मूल्यभन्दा चारगुना बढीसम्ममा बेच्ने गरे पनि प्रहरी प्रशासनले बिक्रेता लक्षित कारवाही समेत गर्ने गरेको छैन । पूर्ण प्रतिबन्धित भारतीय चिठ्ठा समेत खुलेआम बिक्री भइरहेको झापामा भारतीय रूपैयाको पनि अबैध बिक्री वितरण हुने गरेको छ ।
झापासित जोडिएका सीमावर्ती भारतीय बजारबाट अबैध बाटो प्रयोग गरी नेपाल ल्याइएका अधिकाम्स सामग्री साविक मूल्यभन्दा अधिक मोल लिएर बेचिने गरेका छन् । उत्तरी झापाको बाहुण्डाँगी, नकलबन्दा, ज्यामिरगढी, दक्षिण पश्चिम भद्रपुरका विभिन्न गौंडाहरू, पाठामारी, केचना, घेरावारी, पिण्डलवारी कुमरखोद, झापा, टागनडुब्बा, गौरीगञ्ज लगायत दर्जनबढी स्थानबाट अबैध सामग्री भित्रने गरेको अवस्था छ । भारतको उत्तर बंगालको सिलगुरी र बिहार राज्यका गलगलिया, ठाकुरगञ्ज, किसनगञ्ज नाका भएर भद्रपुर हँुदै प्रमुख रूपमा लत्ताकपडा, चिया उद्योगका प्याकिङ्गका सामग्री तथा मेशिनरी पार्टस्, प्लाइउड, उद्योगको पाटपुर्जा, केमिकल , फलफूल र खेतीपातीमा प्रयोग हुने विषादी, सूर्तिजन्य पदार्थ, चप्पलजुत्ता, हार्डवेर तथा रंगरोगनका सामाग्री अवैध बाटोबाट अत्यधिकरूपमा आयात हुने गरेको छ । भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमरखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि सवै छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन् । भारतसित जोडिएको १ सय ४५ किलोमिटर खुला सीमा रहेको झापामा ९ सय ९५ सीमा स्तम्भ र २१ वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा विट रहेका छन् । त्यस्तै नेपभल प्रहरीका पनि सोही अनुपातमा प्रहरी चौकी छन् तर चोरी तस्करीको गिरोह यिनै सुरक्षा निकायका छेउबाटै कारोवार गरिरहेको अवस्था छ । यी क्षेत्रबाट चोरी तस्करी रोक्ने जिम्मा पनि सुरक्षा निकायलाई दिइएको छ । तर पनि झापाका अधिकाम्स नाका चोरी तस्करीकै लागि बढी दुरूपयोग गरिरहेको देखिन्छ । अबैध आयात नरोकिएसम्म देशको राजश्व बढ्ने छैन भने चोर तस्कर धनी बन्लान् तर राज्य सधैं कङ्गाल बनिरहनु पर्ने छ । सरकारले जिम्मेवारी दिएका निकायले राजश्व चुहावट रोक्न चोरी तस्करी रोक्नै पर्छ । अबैध कारोवार रोक्न नसक्ने हो भने सिमानामा बसेर जिम्मेवारी लिएको नाटक गर्न जरूरी छैन ।