भद्रपुरले हात्ती पाइले बिरूद्ध लक्ष्य पूरा गर्न सकेन

भद्रपुर । जनचेतना विस्तारमा उदासिनता तथा स्थलगत रूपमा खटिने स्वास्थ्यकर्मीको निगरानी अभावका कारण हात्तीपाइलेबिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियानले दिएको लक्ष्य भद्रपुर नगरपालिकाले पूरा गर्न सकेन ।
अभियानको सुरूवातदेखि नै सुस्त गतिमा औषधी सेवन गराउने कार्य भइरहेको भद्रपुरमा लक्ष्य पूरा गर्न थपिएको १० दिनमा समेत असफल भएको हो ।
नगर प्रशासनले नगरभित्र रहेका सूचना तथा सञ्चार माध्यमको उपयोगमा समेत बेवास्ता गर्दा औषधी सेवनमा नागरिक उदासिन रहे भने स्थलगत रूपमा खटिने कर्मचारीले पनि जिम्मेवारीलाई सरकारी कामका रूपमा उपयोग गर्दा बस्ती बस्ती भित्र औषधी खुवाउने अभियान पुग्नै सकेन ।
बैशाख १६ गतेदेखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्याउँदासमेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशत नागरिकलाई मात्र औषधि सेवन गराउन सकेको नतिजाले जिल्लाकै सबैभन्दा कमजोर उपलब्धीमा राखेको देखिन्छ ।
बैशाख १६ गतेदेखि ३० गतेसम्म अभियान संचालन हुँदा भद्रपुरले ४४.२७ प्रतिशतलाई औषधि सेवन गराएको थियो । थपिएको १० दिनमा त्यसलाई बढाएर ५४ प्रतिशत पुर्याएपनि लक्ष्य हासिल गर्न नसकेको स्वास्थ्य कार्यालय झापाको विवरणले देखाउँछ । भद्रपुरले गत वर्ष पनि ५३ प्रतिशतलाई औषधि सेवन गराएको थियो ।
१० दिन म्याद थपिँदा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत झापाका ८४ प्रतिशतले औषधि सेवन गरेका छन् । बैशाख १६ देखि बैशाख ३० गतेसम्म संचालित आम औषधि कार्यक्रम अन्तर्गत ७९.४६ प्रतिशतले औषधि सेवन गरेकोमा थपिएको म्यादमा संख्या बढेर ८४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय झापाको तथ्यले प्रष्ट पार्छ ।