पत्रकार महासंघको शुद्धीकरणमा बद्नियत

भद्रपुर । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण गर्दा बद्नियत पूर्ण निर्णय गरेको पाइएको छ ।
जिल्ला शाखाले पठाएको नाममा प्रदेश समिति र केन्द्रले बद्नियत राखेर सदस्याता कायम गरेको खुलेको हो ।
केन्द्रले तय गरेको मापदण्ड अनुसार स्थलगत अध्ययन पश्चात छानविन गरी ६४ जना पत्रकार झापामा निस्कृय रहेको प्रमाण सहित छानविन प्रतिवेदन पठाएको झापा शाखाको सिफारिस विपरित सकृय पत्रकारिता गरिरहेका द्रोण अधिकारी, आत्मराम राजवंशी लगायतको नाम कटाएर होटल व्यवसायमा संलग्न रिपेश पुडासैनी, तथा व्यवसायी विष्णु मैनाली लगायतलाई सदस्यता कायम गरेपछि महासंघको शुद्धीकरण अभियान हचुवाका भरमा गरिएको प्रष्ट भएको छ ।
यस्तै नयाँ सदस्यता प्रदान गर्दा समेत महासंघले जिल्लाको सिफारिस विपरित निर्णय गरेर गैर पत्रकारलाई सदस्यता प्रदान गरेको पाइएको छ । झापा शाखाले प्रकृया पुगेका ३६ जना नयाँ सदस्यलाई सिफारिस गरेको भए पनि महासंघले प्रकृयामै नआएका दुई जना सदस्य थपेर नयाँ सदस्यता प्रदान गरेको पाइएको हो । झापा शाखामा आवेदन नै नदिएका मञ्जु डाँगी र सुरज प्रधानलाई कोशी प्रदेश समितिले बिच बाटोबाट प्रवेश गराई सदस्यता प्रदान गरेको हो । यी दुवै सदस्य झापामा कुन निकायमा पत्रकारिता गर्छन् भन्ने खुल्न सकेको छैन ।