झापाका २६ जना पत्रकारलाई सम्मान सहित पुरस्कृत गरियो
भद्रपुर । नेपाल पत्रकार महासंघ झापाले १४ औं अधिवेशनको अवसर पारेर २६ जना पत्रकारलाई सम्मान सहित पुरस्कृत गरेको छ ।
महासंघको १४ औं जिल्ला अधिवेशनमा अग्रज तथा नयाँ पुस्ता गरी विधागत रूपमा २६ जना पत्रकारलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
खुला सत्रमा महासंघले एक लाख १ हजार १११ रुपैँया राशिको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकारद्वय केशव आचार्य र कृष्ण हुमागाईँलाई संयुक्त रुपमा प्रदान गरेको थियो । उक्त पुरस्कार पहिलो पटक संयुक्त रुपमा दुई जनालाई प्रदान गरिएको हो ।
त्यस्तै अमेरिकाको टेक्सासमा रहेको हेम सरिता फाउण्डेशनले स्थापना गरेको ‘टंक प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पत्रकार राजबाबु शंकरलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि ५० हजार पाँच ५५५ रहेको छ । भ्रष्टाचार विरुद्ध कलम चलाएको भन्दै शंकरलाई उक्त पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक चन्द्र भण्डारीले जानकारी दिए । शंकरले लामो समयदेखि साप्ताहिक समाचार नामक साप्ताहिक पत्रिका सम्पादन गर्दै आएका छन् ।
त्यस्तै पूर्वका जेठो पत्रकार श्यामकृष्ण उपाध्यायद्वारा सम्पादित झापाको पहिलो पत्रिका केटोको सम्मानमा स्थापित ‘केटो पत्रकारिता पुरस्कार’ पूर्वाञ्चल डटकम अनलाइन संयोजक नरेन्द्र ढकाललाई प्रदान गरियो । उक्त पुरस्कारको राशी २५ हजार ५५५ रुपैँया रहेको छ ।
‘केदार–मनमाया बजगाई लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ पत्रकारद्वय लीला अनमोल (२०७९) र रेजिना गौतम (२०८०) लाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी जनही २५ हजार रुपौया रहेको छ ।
यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी २५ हजार ५५५ रुपैयाँ रहेको छ ।
त्यसैगरी पत्रकार महासंघ झापाले यसै बर्षदेखि स्थापना गरेको ११ नगद राशीको विधागत पुरस्कार झुलन रेग्मी (छापा), उद्धव पुरी (अनलाईन), पुष्प बराल (रेडियो), सुदिप अधिकारी (टेलिभिजन)लाई प्रदान गरिएको थियो ।
उदियमान पुरस्कारबाट प्रकाश पौडेल र चन्द्र बस्नेत पुरस्कृत भए । उक्त पुरस्कारको राशी जनही ११ हजार १११ रुपैँया रहेको छ ।
महासंघले ६५ बर्ष उमेर पूरा गरेका झापाका ११ जना अग्रज पत्रकारहरुलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको छ । नकुलकाजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, सिरोसान्दाई, लीला बराल, लेखनाथ पदरेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाललाई उक्त सम्मान प्रदान गरिएको थियो । उनीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मेची–महाकाली पहिलो साइकल यात्री मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामूख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व मन्त्री इन्द्र आङ्बोलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।