हात्ती पाइले रोग बिरूको अभियान सफल बनाऊ

हात्ती पाइले रोग बिरूद्ध झापामा २०८१ बैशाख १६ गतेबाट माहाअभियान सञ्चालनमा छ । यो रोगविरुद्ध झापामा १३ औं पटकको अभियान सञ्चालन हुँदैछ । जिल्लाका १५ वटा पालिकाका नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ । अभियान सफल बनाउन ८० प्रतिशत बढी मानिसलाई औषधि सेवन गराउनु पर्ने बाध्यता छ । झापामा गत वर्ष औषधि सेवन दर ७८ प्रतिशत रहेको थियो ।औषधि खुवाइने अभियानमा विगतमा संलग्न व्यक्तिहरू वास्तविक रूपमा अभियान्ता बन्न सकिरहेका थिएनन् । त्यसअघि उमेरका आधारमा औषधि सेवन गराइँदै आएको अभियानमा गत वर्षबाट उचाइ नापेर औषधि सेवन गराइँदैछ । उचाइका आधारमा तीन वटादेखि नौ वटासम्म औषधि खुवाइनेछ । अभियन्ताहरू घर घरमा पुगेर औषधि खुवाउने जनाइरहेको स्वास्थ्य कार्यालयले खटाएका स्वास्थ्यकर्मीहरू कागजी रूपमा औषधि वितरण चुस्त पारेर सुविधा भोग गरिरहेको नियामकले चाल पाउन नसक्दा रोग निदान प्रभावकारी कार्यान्वयन हुन सकेन । घर घरमा त के टोलको कुनै एक स्थानमा समेत स्वास्थ्यकर्मीले बसेर औषधि वितरण गर्न सकिनरहेको यस अवस्थाले हात्ती पाइले निवारण महाअभियान विगतमा कागजी घोडा बन्ने गरेको थियो ।
संक्रमण भएको लामोसम्म लक्ष्यण नदेखिने भएकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अपेक्षाकृत सफल हुन सकेको छैन । विगतको १२ औं पटकसम्मको अभियान सफल नहुनुको कारण नबुझेर हो कि कार्यान्वयनमा बेवास्ता गरेर हो हात्ती पाइले बिरूद्धको अभियान सफल हुन सकिरहेको छैन । अब झापा जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्ने उद्देश्यले जोडतोडका साथ लागिएको जनाउने स्वास्थ्य कार्यालयको यस वर्षको काम पनि चुस्त दुरूस्त र प्रभावकारी अनुगमन निरीक्षण भएन भने लक्ष्य पूरा गर्न सक्ने छैन । गत वर्ष झापामा ७८ प्रतिशतले औषधि सेवन गरेको तथ्यांक कागजी रूपमा देखिए पनि व्यवहारिकता त्यस्तो नभएकै कारण रोग निर्मुल हुन नसकेको हो । अभियान सफल बनाउन यस पटक ८० प्रतिशत भन्दा बढी लक्ष्य हासिल गर्नु पर्ने देखिए पनि व्यवहारतः यस पटक पनि कागजमै त्यो काम बन्ने हो कि भन्ने शंका छ ।
झापा सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिका भित्रै हात्ती पाइले बिरूद्ध औषधि खुवाउने अभियान व्यबहारिक कम र कागजी बढी मात्रामा भइरहेको विगत छ । नगरका अधिकाम्स वडाका टोल टोलमा औषधि सेवन गराउने काम लक्ष्य अनुरूप भएकै छैन । जनचेतनाका लागि कुनै प्रचारप्रसार गर्ने गरिएको छैन । सूचना प्रसारका लागि आएको रकम अनुसार कुनै काम नै नगरिएका कारण औषधि सेवन गर्न नगर बासी जागरूक हुन सकेका छैनन् । औषधि बिरूद्धमा भ्रम पालेर सेवन गर्नु पर्ने तर्किरहेका छन् भने स्वास्थ्यकर्मी आफ्नो जिम्मेवारी खटाएको स्थानमा पुग्ने मात्र ठानेर बसिरहँदा कागजमा औषधि लक्ष्य अनुसार खुवाएको देखिए पनि व्यवहारतः औषधि सेवनको अवस्था नाजुक नै देखिन्छ । औषधि वितरण अभियान कागजी मात्र हो कि हात्ती पाइले निवारण पनि हो प्रश्न उठेको छ । अभियानमा जिम्मेवारी लिएकाहरूले सोचेर काम अगाडि बढाउन सकेनन् भने यस वर्ष पनि लक्ष्य पूरा नहुन सक्छ । यसैले जिम्मेवारीमा रहेकाहरू यो अभियान सफल नभएसम्म भोक निन्द्रा बिर्सिएर कार्यस्थलमा खटिनै पर्छ ।