गतिहीन राजनीति नै अकाल मृत्युको कारण नबनोस्
द्रोण अधिकारी
भद्रपुर । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ ।
पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम अधिकारी सहित ७ जना युवाले अवैध बाटो रोजेर पेट पाल्नका लागि अकालमा मर्नु परेको बाध्यता हेर्दा नेपालको राजनीति कहिले सही गतिमा आउला भन्ने प्रश्न उठिरहेको छ ।
झापाको हल्दिवारी १ का ३२ वर्षीय गंगाराम अधिकारी नेपाली माटोमा बसेर सेवा गर्ने अवसर नपाएपछि परिवार धान्न र पेट पाल्नका लागि विदेशीने क्रममा रूसी युद्धमा ज्यान गुमाउन बाध्य भए ।
रघुनाथ र मोतीमाया अधिकारीको बुढेसकालको एक्लो साहारा गंगारामको मृत्युको खवरले बुढो हुँदै गएका उनीहरू बोल्न सक्ने अवस्थामा छैनन् । उनीहरूको एकमात्र छोराको मृत्युको खवरसगै अहिले छोराको काजकिरिया गरिरहेका छ्न । लास र सास देख्न नपाएका उनीहरू छोराको मृत्युको खवर असत्य होस् र छोरो टुप्लुक घरमा आएर उभियोस भन्ने कामना पनि गरिरहेका छन् ।
गरीबी र बेरोजगारीको समस्याले पिरोलेपछि एउटा मिठो सपना बोकेर वैदेशिक रोजगारीका लागि २ वर्ष अगाडि कतार गएका गङ्गाराम आफ्ना नाबालक छोराहरू, श्रीमती, आमाबुबा र बैनीहरू लगायत आफन्तसित सुखदुख बाँड्न नसक्ने गरी सदासदाका लागि बिदाए । परिवारको सुखको सपना पालेर कतारबाटै रुसी सेनामा भर्ती भएसँगै आफ्नो जन्मभूमि नफर्कने गरी उतै अस्ताएका छन् ।
अधिकारी परिवारको एक्लो छोरा आउने घर आउने सपना चैत १ गतेको रूसी सेना र दूतावासको पत्र सगै सपना सपनै भएको छ ।
एउटा साधारण परिवारका गङ्गारामसगै कतार पुगेका छिमेकी भाइहरू फर्किएका थिए भने गङ्गाराम परिवारको उज्वल भविश्यको चिन्ता गर्दै कतारबाटै एजेन्ट मार्फत गत मङ्सिर ५ गते रूसी सेनामा भर्ती भएको खवर परिवारले सुन्दा छागाबाट खसेको उनका बुबा रघुनाथले आखाबाट आशुझार्दै बताए ।
युद्धमा होमिएको रूसी सेनामा कसले कसरी पुर्यायो ? उनीजस्तै सयौं युवा भर्ती भएको उनले पटकपटकको कुराकानीमा बताएका थिए ।
२०४८ असोज ५ गते जन्मिएका गङ्गारामका ठुलो छोरा देवराज १५ बर्षका भएका छ्न भने सानो छोरा अमिन ५ बर्षका छ्न । उनकी अर्धागिनी अनुराधा भने श्रीमानको सम्झनामा टोलाई रहिन् । समाज र धार्मिक परम्परा अनुसार चैत ५ गते गङ्गारामको कुसको शव बनाएर स्थानीय आर्यघाटमा सयौं मलामीले अन्तिम दाहसंस्कार गरेर छोरा देवराज काजकिरिया गरिरहेका छ्न । उनलाई त पत्यार नै लागेको छैन । दुई महिना अगाडिसम्म दैनिकी जसो कुराकानी गर्ने बुबाको रूसी युद्धमा ज्यान गयो भन्ने कुरा छोरा देशराज पत्याउन नसक्ने बताउँछन् ।
पत्याए पनि नपत्याए पनि अब उनकै काँधमा बुढा भएका हजुरबुवा हजुरआमा, आमा र भाईको साहारा बनेर बुबाको सपना पूरा गर्ने अभिभारा । फाल्गुन २१ गते उनिहरुले सुनेको हल्ला असत्य होस भन्ने ठानेका गङ्गारामको परिवार जस्तो ७ जना नेपाली युवाको परिवारले अर्काको भूमिमा गएर अकालमा ज्यान गुमाउनु परेको छ । उनीहरू सवैको पीँडा हेर्दा नेपालको राजनीतिले देश र जनताका लागि सही बाटो नपक्रदा नेपालमै बसेर यहीको माटोमा सेवा गरेर मर्ने सपना पूरा नहुने हो त ? प्रश्न छोडिदिएको छ ।
मर्ने त मरी गयो परिवारले आशा गरेको विषय भने वैदेशिक रोजगार कोषबाट र बिमा मार्फत पाउने रकम हो । त्यसको लागी उनीहरूसँग केही कागज पत्र छैन । नेपाल सरकार , स्थानीय सरकारले पहल गरेन भने प्राप्त हुने अवस्था पनि छैन । गंगारामको परिवारले पाउने श्रम तथा रोजगार मन्त्रालय मार्फत रोजगारदाता कम्पनी तथा बिमा र राहत कोष मार्फत उपलब्ध हुने क्रिया खर्च लगायतको सेवा सुविधा अभिलम्ब उपलब्ध होस र पहल कदमी सम्बन्धि निकायबाट होस् । मरेको ज्यान नफर्कला तर मर्नु अगाडि व्यक्तिले गरेको परिश्रमको मूल्य सम्बन्धित निकायले परिवारलाई दिने वातावरण अवको आवश्यकता हो ।