स्वर्गद्वारी र सत्यलक्ष्मीको दशौं सभा सम्पन्न
भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को दशौं साधारण सभाले गोपालबहादुर थापाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।
४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा सुरेन्द्र खत्री, सचिव गुणबहादुर अधिकारी, सहसचिव भिष्म भट्टराई र कोषाध्यक्षमा त्रिलोक भण्डारी सर्वसम्मत चयन भएका हुन् ।
समितिका सदस्यहरूमा क्रमशः रूद्रप्रसाद दाहाल, पदममाया खड्का, सिता कार्की, निर्मला खत्री, मुरारी पोखरेल र दधिराम मैनाली रहेका छन् भने हरिप्रसाद गौतमको संयोजकत्वमा तेजबहादुर श्रेष्ठ र छविलाल सुवेदी सदस्य रहेको लेखा समिति समेत गठन गरिएको छ ।
गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजको प्रमुख आतिथ्यमा सम्पन्न सभामा उत्कृष्ट बचतकर्ता सम्मानबाट दुर्गादेवी दाहाल, दिलकुमार राई र प्रदीप राजवंशी सम्मानित भए भने उत्कृष्ट ऋण कारोवार सम्मानबाट विष्णुमाया कार्की र कल्पना राईलाई सम्मान गरिएको थियो ।
सुरेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, अग्रज पत्रकार गोपाल गिरी र प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठले शुभकामना मन्तव्य राख्दै सहकारी सञ्चालनमा चुनौति थपिएकाले सजग भएर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन रूद्रप्रसाद दाहालले गरेका थिए ।
यसैगरी भद्रपुर १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष खिलानाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
१११ जना शेयर सदस्य रहेको सहकारीको ६ लाख ५२ हजार शेयर पूँजी रहेको विवरण सहित अध्यक्ष पाण्डेले वार्षिक नीति तथा योजना सार्वजनिक गरेका थिए ।
उपाध्यक्ष दीपबहादुर राउतले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट तीन जना शेयर सदस्यलाई सम्मान समेत गरिएको थियो । युवराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा वैदिक बचतका अध्यक्ष प्रकाश निरौला, हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।