जैविक विविधतामा धनी रहेको जलथल जंगलको संरक्षमा जुटौं

भद्रपुर । एशियामै जैविक विविधतामा धनी मानिएको जलथल जंगल संकटमा परेको छ । यस जंगलको संरक्षणको दायित्व पाएका सरोकारवालाहरू जैविक विविधता दिवसका दिन चिन्ता व्यक्त गर्छन्, वर्षभरी अन्य दिन कता हराउँछन् पत्तो हुँदैन । कतिपय विश्वमै नपाइने वनस्पति र जीव समेत पाइने जलथल जंगललाई जोगाउनु पर्ने दायित्व भएकाहरू अरूले नै केही गर्लान् कि भनेर आशा राख्दै चिन्ता देखाएर दायित्वबाट भाग्दै गएको अवस्था छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म जलथल जंगलसित जोडिएको जैविक विविधता संरक्षित हुने छैन । वर्षमा एकचोटी विज्ञ सहितका सरोकारवालाले जलथल वन अवलोकन तथा अन्तरक्रिया कार्यक्रमका गर्ने गरेका छन् । यस्ता कार्यक्रमले रुख मात्र जोगाउने नभएर वनमा रहेका सम्पूर्ण जैविक विविधता जोगाउन वन समूहहरुको दायित्व बुझाउन सकेको अवस्था पनि छैन । जलथल जंगल वास्तविक सिमसार भएको भएको क्षेत्र हो तर, केही वर्षयता त्यस क्षेत्रको पानी अप्रत्यासित रूपमा सोसिरहेको छ । विज्ञहरूले कारण पत्ता लगाउन जरुरी भएको छ ।
जंगललाई पर्यटकीयस्थलको रूपमा विकास गर्न आवश्यक भए पनि जैविकतालाई नास गर्ने गरी भौतिक संरचनाको निर्माण आवश्यक नरहेको स्थानीय सरकारलाई बुझाउन जरूरी छ । जैविक विविधता जोगाउन कसैलाई पनि जंगलमा प्रवेश गर्न दिनु हुँदैन भन्ने ज्ञान पनि जरूरी छ । यस जंगलको सिमसारको विशेषतालाई उजागर गरी रामसारमा सूचीकृत गर्नसके विश्वमा पर्यापर्यटनका लागि एकीकृत विकास गर्न सकिने छ । त्यसका लागि ठूलो लगानी र प्रयास चाहिने आवश्यकता पनि बुझ्न जरूरी छ । नेपालकै होचो ठाउँमा अवस्थित यस जंगलमा संसारमै नपाइने ६ वटा रुखका प्रजाति र ३ वटा वनस्पति भेटिएको विज्ञहरूको ठहर छ । जलथल जंगल जैविक विविधताले नेपालकै धनी भएको प्रमाण पनि यही हो । यस जंगलमा रहेको सिमसारमा पानीको मुहान सुक्दै गएको , वन्यजन्तुहरु नासिदै गएको, चराचुरुङ्गीहरु हराउँदै जानु चिन्ताको विषय हो । मानवको आर्थिक विकास सँगसँगै जैविकताको पहिचान रहेको सिमसारलाई पनि विकसित गर्दै लैजानु पर्छ ।
यस वन क्षेत्रमा १७० किसिमका चरा , १५० किसिमका पुतलीहरू रहेका छन् । त्यस्तै कटुस , लटहर , बेत , सतिसाल जस्ता दुर्लभ वनस्पति, बदेल, हरिणजस्ता वन्यजन्तु यहाँ पाइन्छन् । केही वर्षयता सालक, बाँदर जस्ता वन्यजन्तु लोप हुँदै गएका छन् । जलथल जंगललाई हात्ती करिडोरको रूपमा विकास गर्न सकिने संभावना छ । जैविक विविधतामा एशियाकै धनी यस जंगललाई संरक्षण र संवद्र्धन गर्न सवै लाग्ने हो भने जैविकता सुरक्षित हुन्छ । यस जंगलमा माइकेनिया प्रजातिको मिचाहा झारले स्थानीय प्रजातिमाथि नकारात्मक प्रभाव पारिरहेको छ । पूर्वी दक्षिणी झापाको पहिचान रहेको यस जंगलले झापाका करिव १८ हजार हेक्टर वन क्षेत्रमध्ये एक तिहाई भाग ओगटेको छ । जलथल वन भित्र २२ वटा वन समूहहरू रहेका छन् । यी समूहहरूले रूख जोगाएका भए पनि जैविकता बचाउन सकेको अवस्था छैन । पहिलो संरक्षणको हिस्सेदार स्थानीय सरोकारवालाका रूपमा वन समिति हुन भने स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार पनि जैविकता संरक्षणका लागि मुख्य जिम्मेवार हुन् । नीति, विधि र प्रकृयाबाटै जलथल वनसित जोडिएको जैविकता सुरक्षित हुनु पर्छ । वर्षमा एक दिन चिन्ता गरेर यस वनको जैविकता बच्ने छैन । यसका लागि सरोकारवाला सवै एकजुट भएर यस जैविक वनको संरक्षणमा लाग्न जरुरी छ ।