भद्रपुर ९ को साकेला थानमा मनाइयो उभौली पर्व

भद्रपुर । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उभौली पर्वको अवसरमा भद्रपुरका किँरात समुदायले मनाउँदै आएको साकेला उत्सव यस वर्ष फरक तरिकाले मनाएका छन् ।

भद्रपुर ९ स्थित किराँत साकेला थान भूमिपूजा स्थलमा भेला भएका किराँत राई यायोक्खा भद्रपुर ५ देखि १० सम्मका किराँत समुदायले पहिचान मेटिने गरी प्रदेशको नामाकरण भएको बिरोध गर्दै विविध नृत्य सहित उत्सव ्मनाएका हुन् ।

उत्सव स्थलमा कोशी प्रदेश मुर्दावाद अंकित नारा लेखिएका पोष्टर टाँसिएको थियो भने कार्यक्रममा सम्बोधन गर्ने सवै वक्ताले पहिचान खोसिने गरी प्रदेशको नामाकरण भएकोमा कडा आपत्ति जनाएका थिए ।

१४ वटा साकेला टोलीले भेषभुषा सहित साकेला नृत्य प्रस्तुत गरेको कार्यक्रममा झापा जिल्ला भरका किराँत अगुवा नेतृत्वको उपस्थिति रहेको थियो ।

किराँत यायोक्खा भद्रपुरका अध्यक्ष रङ्गवीर राइको अध्यक्षता तथा झापा अध्यक्ष गणेश राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. पृथ्वीविक्रम राई, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, धनप्रसाद गुरूङ लगायतले सम्बोधन गर्दै पहिचान बिरोधी कोशी प्रदेश नाम खारेजीको माग समेत राखेका थिए । कार्यक्रममा १०२ वर्षीया जसमाया राई लगायत १४ जना अग्रज व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।