झापा चौक महोत्सवमा नियम विपरित जुवाजन्य खेल तमासा चल्दै

भद्रपुर । भद्रपुर ४ स्थित झापा चौकमा चलिरहेको महोत्सवमा नियम विपरित जुवा जन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ ।

प्रथम झापा चौक कृषि तथा साँगीतिक महोत्सव नाम दिएर चैत्र २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबजी सम्बद्ध जुवा जन्य खेल भइ रहँदा नियामक रमिते देखिएको हो ।

सगरमाथा फउण्डेसन भद्रपुर पृथ्वीनगर मुल आयोजक रहेको महोत्सव विर्तामोडको रिकभरी टिमले ठेक्कामा सञ्चालन गरिरहेको कृषिको नाम दिइएको महोत्सवमा कृषि सम्बद्ध सामग्रीले भने भाडा तिर्न नसक्ने देखेर सहभागिता जनाएका छैनन् भने त्यस रिक्ततालाई जुवाजन्य खेल तमासाले भर्ने प्रयास आयोजकको देखिएको छ ।

मेला महोत्सवमा मदिरा तथा जुवा जन्य खेल तमासा पूर्ण रूपमा निषेध हुने कानुनी व्यवस्था भए पनि धेरै आम्दानी हुने बाहनामा प्रहरी प्रशासनसित साँठगाठ गरी आयोजकले भारतीय नागरिकप्रति लक्षित भन्दै मदिरा तथा जुवा जन्य खेल तमासा देखाउने गरेको स्थानीयको भनाइ छ ।

हल्लाका बीच महोत्सव मध्यरातसम्म सञ्चालन हुँदा आसपासका बासिन्दालाई त्यहाँबाट उत्पन्न आवाजले निन्द्रामा समेत असर गरिरहेको गुनासो आउने गरेको छ ।

यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मेला महोत्सवमा कानुनले निषेध गरेका काम भए आयोजकलाई कारवाही गरिने भन्दै झापा चौक महोत्वसमा हाउजी लगायत जुवाजन्य तथा मदिराजन्य कारोवारको अनुमति नरहेको प्रष्ट पारेका छन् । उनले रातको ९.०० वजेसम्म मेला सञ्चालन गर्न अनुमति दिएकोले सो भन्दा पछाडि सञ्चालन भएको पाइए कारवाही गरेने समेत जानकारी दिए ।