सिरूवाको अवसर पारेर भद्रपुरमा आदिवासी राजवंशी संग्रालयको शिलान्यास

भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुर ६ महेशपुरमा आदिवासी राजवंशी संग्रालय भवनको शिलान्यास गरिएको छ ।

भद्रपुर ६ महेशपुरमा ७ कठ्ठा क्षेत्रफमा ५ करोड बढी लगानीमा पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झलकने गरी संग्रालय निर्माण गर्ने लक्ष्यका साथ भवनको शिलान्यास गरिएको हो ।

पहिलो चरणका लागि भद्रपुर नगरपालिकाले प्रदान गरेको २० लाख रूपैयाबाट पहिलो चरणको काम थालिएको संग्रालयको शिलान्यास भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका छन् ।

भद्रपुर नगरपालिका भित्र राजवंशी समुदायका विभिन्न संस्थाको साझा नेतृत्व गरिरहेको आदिवासी राजवंशी भाषिक साँस्कृतिक विकास प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पहिलो चरणको निर्माण कार्य थालनी गर्न लागिएको जानकारी दिइएको थियो ।

सवै संस्थाको साझा नेतृत्व गरिरहेका आदिवासी राजवंशी साँस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलारामसिंह राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष राजवंशीले संग्रालयमा राजवंशी जातिको पहिचानका रूपमा रहेका तर वर्तमानमा लोप भइसकेका, लोप हुन लागेका चुवारी घर, वंगला घरदेखि भेष भुषा, रहनसहन, संस्कार संस्कृतिसम्मका विविध पहिचान संग्रालयमा संग्रहित हुने जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशकै आकर्षक संग्रालय बनाउन ५ करोड बढी खर्च लाग्ने छ भने श्रोतका रूपमा स्थानीय, प्रदेश र संघीय सरकारदेखि विभिन्न दातासम्म जुटाएर ५ वर्ष भित्र निर्माण सम्पन्न गरिने छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज लगायतले धारणा राख्दै संग्रालय नगरको गहना भएकोले निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।