प्रचण्डका पक्षमा १७२ विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन । आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई १७२ विश्वासको मत प्राप्त भएको हो । मतदानमा २६२ सांसद उपस्थित थिए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई पक्षमा १७२ जना सांसदको विश्वासको मत पर्यो भने विपक्षमा ८९ मत परेको थियो । एक जना मतदानमा सहभागी भएनन । यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए ।
यो बीचमा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो । दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपाबाहेकका १० दल र २ स्वतन्त्र सांसदले विश्वासको मत दिए । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाएपछि पुस १० मा बनेको एमाले–माओवादीसहित ७ दलको सत्ता गठबन्धन भत्किएको हो । प्रचण्डले विश्वासको मत पाएसँगै पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन औपचारिक रुपमै फेरि ब्युतिन पुगेको छ । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।