स्ववियू निर्वाचन परिणामले झापामा अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिमा

भद्रपुर । झापाका दश वटा क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनको अन्तिम परिणाम अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् ।

निर्वाचन समिलेले सार्वजनिक गरेको विवरण अनुसार मेची क्याम्पस भद्रपुर, कृषि क्याम्पस गौरादह, गौरीगञ्ज क्याम्पस, कनकाई बहुमुखी क्याम्पस र सीतारमेश क्याम्पस बुद्धशान्ति अनेरास्ववियूले नेतृत्व पाएको छ भने कन्काई क्याम्पस विर्तामोड, इन्द्रचन्द्र क्याम्पस विर्तामोड, त्रिदेव क्याम्पस मेचीनगर चारआली, शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधाराको नेतृत्व नेविसंघले प्राप्त गरेको हो ।

झापाको सर्वाधिक विद्यार्थी संख्या रहेको भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् ।

त्रिपक्षीय प्रतिष्पर्धा रहेको निर्वाचनमा धमलाले नेपाल विद्यार्थी संघका किशोर ढुंगानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् ।

धमलाले ९६० मत ल्याउँदा ढुंगानाले ८३० मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन् । राई १ हजार १३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भिष्म घिमिरेले ९३३ मत पाएका छन् ।

कोषाध्यक्षमा भने नेविसंघकी निलम कार्की विजयी भएकी छिन् । उनले १ हजार १५० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिल चौहानले ७२७ मत पाएका छन् ।

त्यस्तै अनेरास्ववियुले दुईवटा सदस्य जित्दा नेविसंघले पाँचवटा सदस्य पद जितेको छ । अनेरास्ववियुका तर्फबाट अनुषा भण्डारी ९३६ , उदेश्य भण्डारी १०७७ , नेविसंघका तर्फबाट सौरभ ओस्ती ९७२ , प्रजिन खतिवडा १००४ , भिमार्जुन गिरी ९४३ , प्रतिक शाह रौनियार १००१ र विवेक ढकाल ९६५ मत ल्याई निर्वाचित भएका छन् ।

मेची बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको थियो । कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनलगायतले दुईवटा प्यानल बनाउँदा नेपाली कांग्रेसनिकट नेविसंघ एक्लै निर्वाचनमा होमिएको थियो । नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रविसंले संयुक्त प्यानल बनाएका थिए । अनेरास्ववियु प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट धमलाले अध्यक्षमा निर्वाचन लडेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका थिए । नेविसंघले सिंगल उम्मेदवारी दिएको थियो । यस पटक मेची क्याम्पसमा २० औं कार्यकालका लागि स्ववियु निर्वाचन भएको हो । १९ पटकसम्मको निर्वाचनमा चार पटक मात्र नेपाल विद्यार्थी संघले जितेको थियो भने १५ पटक अनेरास्ववियुले जीत हासिल गरेको थियो ।

यस्तै बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलका तर्फबाट अध्यक्ष बनेका गणेश न्यौपाने (पुकार)लाई ६३७ मतको फराकिलो अन्तरले पराजित गरी नेविसंघका गुरुङ प्यानलसहित निर्वाचित भएका हुन् । नेविसंघका गुरुङले ७६५ मत ल्याउँदा न्यौपानेले मात्र १२५ मत पाएका छन् । निर्वाचित हुने नेविसंघका तर्फबाट सचिवमा विमल कट्टेल ७०६ ,कोषाध्यक्षमा सम्पदा पोख्रेल ७५३ तथा सदस्यहरुमा साजन लिम्बू ७६९ , इशान ओली ७५४, रोशन कार्की ७७५, दिव्यकला कार्की ७६१, कुशल खनाल ७५०, मनिष कोइराला ७३८, विधान लिम्बू थेवे ७४२ र रोहित काफ्लेले ६९३ मत ल्याएका छन् ।

कन्काई आदर्श क्याम्पसमा अध्यक्षमा चारजनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा अखिल क्रान्तिकारीका लक्ष्मण थापाले ३२ र स्वतन्त्र उम्मेदवार विशाल पौडेलले १६ मत पाएका छन् ।

बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका पवन दाहाल निर्वाचित भएका छन् । उनले ३९० मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निर्मल लाम्गादेले २३७ मत पाएका छन् । त्यस्तै सचिवमा नेविसंघका श्रीजित ढुंगाना ४१५ , कोषाध्यक्षमा नेविसंघका शीतल गुरुङ ४४१ मत ल्याई विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा रविन खड्का नेविसंघ ४६१ , बृन्दा तामाङ नेविसंघ ३९५ , ज्ञानबहादुर फत्र नेविसंघ ३९८ , समीक्षा पाण्डे नेविसंघ ४२६ , आकाश थापा अनेरास्ववियु ३९१ र उज्वल घिमिरे अनेरास्ववियु ३८१ मत ल्याई निर्वाचित भएका छन् ।

सम्पूर्ण पदाधिकारीसहित चारवटा सदस्य पद नेविसंघले जित्दा अनेरास्ववियुले दुईवटा सदस्य पद जितेको हो ।त्यस क्याम्पसमा अनेरास्ववियु , नेविसंघ ,अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियुका तर्फबाट चार जनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका प्रदीप बर्देवा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले ३३ मतान्तरले जित हासिल गरेका हुन् । बर्देवाले २०६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक कार्कीले १७३ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका अशोक भण्डारीले जितेका छन् । उनले २०४ मत प्राप्त गर्दा नेविसंघकी मेलिना मिश्रले १७१ मत प्राप्त गरेकी छिन् । कोषाध्यक्षमा नेविसंघका सन्तहाङ लिम्बूले जितेका छन् । उनी १८९ मत ल्याएर बिजयी भए भने अनेरास्ववियुकी रमला राईले १८२ मत प्राप्त गरेकी थिइन् । हिजो भएको निर्वाचनमा जम्मा ३८८ मत खसेको थियो ।

मेचीनगरको त्रिदेव क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पद नेपाल विद्यार्थी संघले जितेको छ ।

नेपाल विद्यार्थी संघले अध्यक्ष , सचिव र दुईवटा सदस्य पद जितिरहँदा अनेरास्ववियुले कोषाध्यक्षसहित पाँचवटा सदस्य पदमा विजय हासिल गरेको छ । अध्यक्षमा नेविसंघका अर्जुन गौतम २८१ , सचिवमा नेविसंघका मनिराज विष्ट ३०६ , कोषाध्यक्षमा अनेरास्ववियुका इश्वर रिजाल ३२२ , सदस्यहरुमा भूगोल भट्टराई अनेरास्ववियु २९७ , दावा तामाङ ३२५ , हरि पौडेल अनेरास्ववियु २६१ , मदन चिमरिया अनेरास्ववियु २९३ , कैलाश रेग्मी अनेरास्ववियु २९६ , सृजल अर्याल नेविसंघ ३४१ र रोशन पोखरेल नेविसंघ ३०६ मतसहित विजयी भएका छन् ।

झापाको शनिश्चरे बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ ।

गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी संघका बिशाल थापा २७७ मत ल्याई सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका गगन चापागाईं २६२ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा शर्मिला न्यौपाने २६० तथा सदस्यहरुमा निमेश भण्डारी २८३ , देवेन्द्र गिरी २६० , दिपक भट्टराई २४७ , टिकाराम दाहाल २७८ ,रविन प्रधान २७७ ,अरुण श्रेष्ठ २५५ मतसहित विजयी भएका छन् । शनिश्चरे बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसंग अनेरास्ववियुले एक्लै निर्वाचन लडेको थियो ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु सभापति अनेरास्ववियुले जितेको छ ।

सिंगल प्यानल बनाएर निर्वाचन लडेको अनेरास्ववियुले नेविसंघ, अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गरेको हो । गठबन्धन बनाएर निर्वाचन लडेको नेविसंघले सचिव र एउटा सदस्य पदमात्र जितेको छ ।

अनेरास्ववियुका तर्फबाट अध्यक्षमा चेतन आचार्य ४१४ , सचिवमा नेविसंघका बासुदेव निरौला ३६२, कोषाध्यक्षमा अनेरास्ववियुकी प्रिया पुरी ३५८ तथा सदस्यहरुमा अनेरास्ववियुका मिना ढुङ्गेल ३९४, रोहन कोइराला ३७५, जोमर अली ३६६, मनिश दर्जी ३४७ , मदन उप्रेती ३६२ र नेविसंघका प्रविण राई ३५९ मत ल्याई निर्वाचित भएका छन् । कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा कुल १हजार ३७१ मतदाता रहेका थिए । त्यसमध्ये ८३२ अर्थात ६१ प्रतिशत मत खसेको थियो ।

गौरीगञ्ज बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ईस्तव हुसेनले ११८ मत ल्याई प्यानलसहित विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रोशन यादवले मात्र ६८ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका निरबहादुर प्रधान १०८ , कोषाध्यक्षमा निरज माझी १०४, सदस्यहरुमा ममताकुमारी राजवंशी १०६, समीक्षा कटुवाल ९८ र कृष्णप्रसाद गन्गाई ९८ मत ल्याई निर्वाचित भएका छन् ।

गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको थियो । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियुमा यसअघि नेविसंघले अध्यक्ष जितेको थियो । आइतवारको निर्वाचनमा गौरीगञ्ज क्याम्पसमा कुल २०० मतदातामध्ये १८६ अर्थात ९३ प्रतिशत मत खसेको थियो ।

गौरादह कृषि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

सम्पन्न मतगणनामा अनेरास्ववियुका विक्रमकुमार तिवारी १३० मत ल्याई प्यानलसहित विजयी भएका हुन् । सोही प्यानलका तर्फबाट सचिव पूर्णबहादुर राना १३८, कोषाध्यक्ष झरना सुवेदी १३९ तथा सदस्यहरुमा प्रकाश पौडेल १३०, सविन कटुवाल १२७, सुनिता बस्नेत १२३, मनिचकुमार राई १४२ र रिकिताकुमारी चौधरी १३९ मत ल्याई विजयी भएका छन् । नेविसंघका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र काफ्लेले भने ९९ मत पाएका छन् । त्यहाँ अनेरास्ववियु र नेविसंघको दुईवटा प्यानलले उम्मेदवारी दिएको थियो ।

झापाका १० वटा क्याम्पसमध्ये सबैभन्दा बढी प्रतिशत मत(९७ प्रतिशत) गौरादह कृषि क्याम्पसमा खसेको थियो । गौरादह कृषि क्याम्पसमा कुल २३६ मतदाता रहेकोमा २२९ मत खसेको जनाइएको छ ।