झापा १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लोकप्रिय मतका साथ विजयी

भद्रपुर । संघीय संसदका लागि झापा १ बाट नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकप्रिय मतका साथ विजयी भएका छन् ।

नेकपा एमालेको बलियो जनमत भएको क्षेत्र मानिएको झापा १ मा तेस्रो पटकको प्रयासपछि शर्माले एमालेका उम्मेदवारभन्दा १४ हजार दुई सय ७५ मत बढी प्राप्त गर्दै विजयी भएका हुन् ।

शर्मा ३९ हजार ६२४ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले २५ हजार ३४९ मत मात्र पाएका छन् ।

शर्मा यस क्षेत्रबाट पहिलो पटक दोस्रो संविधान सभा निर्वाचन २०७० मा एमालेका रविन कोइरालासित ६ सय मत अनतरमा पराजित भएका थिए । दोस्रोपटक एमाले माओवादी गठबन्धनका उम्मेदवारसित २०७४ को आम निर्वाचनमा दुई हजार ९ सय मतान्तरमा पराजित भएका शर्माले यस पटक एमाले राप्रपा गठबन्धनलाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।