झापा प्रतिनिधि सभा ३, प्रदेश देश सभा २ अपडेट
भद्रपुर । पछिल्लो मत परिणाम अनुसार, पाँच निर्वाचन क्षेत्र रहेको झापामा २, ४ र ५ मा एमाले, क्षेत्र १ मा कांग्रेस र क्षेत्र ३ मा राप्रपा अगाडि रहेकोे छ ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेकपा एमालेका अग्निप्रसाद खरेलभन्दा ४ हजार ३०२ मतान्तरले अगाडि छन् । शर्माले सुरुदेखि नै मतान्तर बढाउँदै लगेका छन् । शर्माले ११ हजार ३८५ मत ल्याउँदा नेकपा एमालेका अग्नी खरेलले ७ हजार ८३ मत ल्याएका छन् । यसैगरी झापा १ प्रदेशसभा सदस्य क मा कांग्रेसका गोपाल तामाङ र प्रदेशसभा सदस्य ख माओवादी केन्द्रका श्यामवीर लिम्बु अगाडि छन् ।
झापा– २ मा एमालेका देवराज घिमिरेको अग्रता कायम छ । घिमिरेले ७ हजार ३२८ मत ल्याउदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ६ हजार २०६ मत ल्याएर दोस्रो स्थानमा छन्, भने गठबन्धनबाट माओवादीको चुनाव चिन्हमा उठेका हरि राणा तेस्रो स्थानमा छन् । झापा २ प्रदेशसभा सदस्य क मा एमालेका एकराज कार्की र ख मा एमालेकै तिलचन पाठकको अग्रता सुरुवातदेखि नै कायम छ ।
झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको अग्रता कायम छ । लिङदेनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई १ हजार २२६ मतले पछि पारेका छन् । लिङदेनले ४ हजार ३८४ मत ल्याउँदा सिटौलाले ३ हजार १५८ मत प्राप्त गरेका छन् । झापा ३ प्रदेशसभा सदस्य क मा कांग्रेसका भूमिप्रसाद राजवंशी र ख मा एमालेका छविलाल चुँडाल अगाडि छन् ।
त्यस्तै झापा ४ मा सुरुदेखि अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाललाई ३४ मतले पछि पार्दै एमालेका लालप्रसाद सावा अगाडि बढेका छन् । सावाले ४ हजार २०४ मत ल्याउँदा ढकालले ४ हजार १७० मत ल्याएका छन् । गठबन्धनका साझा उम्मेदवार कांग्रेसका देवकुमार थेबे २ हजार ४६७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
झापा ५ मा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका डा खगेन्द्र पाण्डव अधिकारीलाई ३ हजार ५३० मतले पछि पारेका छन् । ओलीले ८ हजार ९७८ मत ल्याउँदा अधिकारीले ५ हजार ४४८ मत ल्याएका छन् । झापा ४ र ५ मा प्रदेशसभा सदस्यको मत गणना सुरु नभएको जनाइएको छ ।