मंसिर ४ मा मतदान गर्न झापामा १३ हजार नयाँ मतदाता थपिए

भद्रपुर । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापामा १३ हजार नयाँ मतदाता थपिएका छन् ।

बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय झापाको विवरण अनुसार हाल झापामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता संख्या पुगेको छ । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष र ३ लाख ३२ हजार २ सय ५९ महिला तथा अन्य ८ जना मतदाता रहेका छन् । झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या एक हजार २ सय १५ जना बढी देखिएको छ ।

यस निर्वाचनका लागि झापामा दुईवटा मतदानस्थल अस्थायी रूपमा तयार गरिएको छ । कैदीबन्दीका लागि झापा कारागार भद्रपुरमा एउटा र प्रहरी, कर्मचारीलगायतका अन्य नागरिकका लागि सदरमुकाममा अर्को मतदान केन्द्र तयार गरिएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए ।

झापामा ६ हजार २४२ जना अस्थायी मतदाता नामावली छ भने उनीहरूले अस्थायी मतदान केन्द्रमा मतदान गर्ने पाउने नेपालको भनाइ छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र झापा ५ मा हो भने कम मतदाता भएको क्षेत्र झापा १ रहेको जिल्ला निर्वाचन अधिकारीको भनाइ छ । उनका अनुसार झापा क्षेत्र नम्वर १ मा मतदाताको संख्या एक लाख २० हजार ३ सय ७५ र झापा ५ मा मतदाताको संख्या १ लाख ५४ हजार २ सय ८९ रहेको छ । झापामा ७ सय ६८ मतदान केन्द्र र २ सय ८५ वटा मतदानस्थल कायम गरिएको छ ।

१३१ वटा वडा रहेको झापामा मतदान केन्द्रमध्ये २ सय ८१ वटा मतदान केन्द्र अति संवेदनशील ,३ सय ७१ वटा संवेदनशील र बाँकी सामान्य रहेको सुरक्षा संयन्त्र मार्फत सूचनाका आधारमा जिल्ला निर्वाचन कार्यालय झापाले पहिचान गरेको छ ।