झापा ३ (१) मा बानिया विरासत जोगाउन खोज्दै राजवंशी जीतको झण्डा गाड्न तत्पर
भद्रपुर । झापा ३ (१) मा प्रदेश सभा सदस्य पदलाई जनअनुमोदन गर्दै निरन्तर विरासद कायम राख्ने दाउमा बसन्तकुमार बानिया देखिन्छन् भने नयाँ अनुहारका रूपमा जीतको भण्डा गाडेर दक्षिणी झापाको मुहार फेर्न भूमिप्रसाद राजवंशी तल्लिन देखिन्छन् ।
दक्षिणी झापाको कचनकवलमा रहेर त्यहाँको उन्नतिका लागि शिक्षण पेशाको माध्यमबाट दशकौं सेवा गर्दै पूर्णकालीन राजनीतिमा होमिएर नेपाली काँग्रेसमा निरन्तर सकृय रहेका भूमिप्रसाद राजवंशी तथा विद्यार्थी राजनीतिदेखि नेकपा एमाले पार्टी राजनीतिसम्म आइपुगेका बसन्तकुमार बानिया आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि झापाको क्षेत्र नं ३ (१) बाट प्रमुख प्रतिष्पर्धीका रूपमा देखिएका हुन् ।
२०७४ को निर्वाचनमा पनि दुवैजना प्रमुख प्रतिष्पर्धीका रूपमा देखिएकोमा त्यसबेला बानियाले तीन दलीय गठबन्धनको सहयोगमा जीत हासिल गर्दा एकल काँग्रेसबाट भिडेका राजवंशीले उपविजेताका रूपमा चित्त बुझाउनु परेको थियो ।
बानिया र राजवंशी दोस्रो पटक आमनेसामने हुँदा यसपटक भने भिडन्त विगतको तुलनामा निकै फरक तथा रोचक हुने देखिएको छ ।
२०७४ को निर्वाचनमा बानियाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट साझा उम्मेदवार बनेर निर्वाचन लडेका थिए भने राजवंशी एक्लै काँग्रेसको उम्मेदवार थिए । त्यस निर्वाचनमा बानियाले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए ।
यस पटकको निर्वाचनमा एमालेका उम्मेदवार बानियालाई राप्रपाले मात्र साथ दिएको छ । एमाले र माओवादी मिलेर नेकपा बनेको वर्ष दिन नबित्तै चार चोइटा भएको अवस्था छ भने माओवादी र एकीकृत समाजवादीले कांग्रेसका उम्मेदवार राजवंशीलाई साथ दिँएका छन् ।
अघिल्लो निर्वाचनको जीत जोगाउन बानियालाई हम्मेहम्मे देखिन्छ भने राजवंशीलाई हारको बदला लिन अनुकुल मौका देखिएको छ ।
२०७० को निर्वाचनमा चौथो शक्तिको रूपमा रहेको नेकपा एमालेले राप्रपा र माओवादी केन्द्रको सहयोगमा २०७४ मा झापा क्षेत्र नं ३ (१) मा निर्वाचन जितेको थियो । तर, यसपटक त्यो अनुकुलता नरहेका कारण बसन्तकुमार बानियालाई सहज छैन । एमालेको साथमा राप्रपा मात्र छ ।
राप्रपाबाट बिद्रोह गरेर बलियो जनमत बटुल्दै गरेका युवा हेमलाल भट्टराई समेत यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएका छन् । भट्टराई एमाले तथा राप्रपाका असन्तुष्ट मत समेटेर दलबाहिर रहेका मतदाताको साथ लिएर विजयी हुने लक्षमा छन् । उनको आँकलन अनुसार विगतदेखि निर्वाचन जितेका दलीय उम्मेदवारले यस क्षेत्रमा केही गर्न नसकेका कारण विकल्पमा आफू उभिएको दावी छ ।
चुनावी तालमेल फरक भएपनि आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार बानियाले दावी गरिरहेका छन् ।
उता लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजवंशीले यसपटक आफ्नो लागि जित्ने माहोैल बनेको दावी गरेका छन् । ‘माहोल राम्रै बन्दै गएको छ ’उनले भने, ‘गत निर्वाचनको भन्दा स्थिति सुध्रिएको छ , निर्वाचन जित्छु ।’
कचनकवलमा बानियाभन्दा राजवंशी निकै बलियो देखिएका छन् तर भद्रपुरमा बानिया केही बलियो रूपमा देखिन्छन्् । तर गत स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा हस्तक्षेप गरेर भद्रपुरमा नेकपा एमालेको शाख गिराउन बानियाको भूमिका रहेको भन्दै कतिपय एमाले कार्यकर्ता उनको विपक्षमा देखिनु पनि निर्वाचनको मत विग्रने संकेतका रूपमा हेरिने गरेको छ ।
झापाको क्षेत्र नं. ३ (१) भित्र कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ पर्छ । यहाँको कुल मतदाता संख्या ५८ हजार ८ सय १७ रहेको छ । गत स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा कांग्रेसको जित रहेको छ ।
यसअघिको स्थानीय तहमा कचनकवल गाउँपालिकामा राप्रपाले र भद्रपुर नगरपालिकामा एमालेले जितेको थियो । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले नेपाली कांग्रेसको स्थितिमा यस क्षेत्रमा निकै सुधार गरेको देखिन्छ । राप्रपा र एमाले भित्र आन्तरिक समस्या र असन्तुष्टिको कारण मतदाता भड्किएको अवस्था छ । जसको फाइदा काँग्रेस गठबन्धनका उम्मेदवार राजवंशीले लिने देखिन्छ ।