हिंसामा परेकाकाहरूको उपचारका लागि वार्षिक वजेट १८ लाख
भद्रपुर । हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचारकेन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख वजेट प्रस्तावित गरि यस आर्थिक वर्षमा निशुल्क सेवा प्रवाहको लक्ष्य राखिएको छ ।
लैङ्गिक हिंसा पीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको मेची अस्पतालले दिने निशुल्क वार्षिक उपचारका लागि सो वजेट मार्फत सेवा प्रवाहको लक्ष्य निर्धारित गरिएको हो ।
यस शीर्षक अनुसार वार्षिक हिंसा पीडित १७० बढीले ले निशुल्क सेवा पाएको विगतका विवरणहरूले पुष्टि गरेका छन् ।
मेची अस्पताल मातहतमा रहेको निशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् । पछिल्लो उपचार विवरण अनुसार १४ वर्ष मुनिका बालिकाको संख्या ५० प्रतिशत बढी देखिएको छ । जसमा यौन हिंसा पीडितको संख्या उल्लेख्य छ भने बाल विवाह, बहुविवाह, मानसिक हिंसा लगायत अपराधबाट पीडित आउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको बैठकमा पेश गरिएको विवरण अनुसार हिंसा पीडितको सूचिमा विर्तामोड नगरपालिका, मेची नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिकाबाट बढी मात्रामा सेवा लिन आउने गरेको देखिन्छ ।
विभिन्न सरोकारवाला संघ संस्थाले उद्धार गरे पनि हिंसा पीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइ दिने गरेको विवरणमा उल्लेख छ । हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्ष मार्फत अस्पतालमा उपचार सेवा प्रवाह गरिदै आएको समितिका सदस्य सचिव डा. टंकप्रसाद बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार संभव नभए अन्यत्र लगेर पनि निशुल्क उपचार गर्ने प्रबन्ध रहेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा सम्पन्न बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने प्रजिअ रिजालले महिला हिंसा न्युनिकरण गर्न र पीडितको उपचार तथा सुरक्षाका लागि गर्न सकिने कामका लागि सुझाव समेत लिएका थिए ।