झापाका १५ जना उम्मेदवारले मनोनयन फिर्ता लिए
भद्रपुर । आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सदस्यका लागि मनोनयन दर्ता गरेका झापाका १५ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभा तर्फ ७ जना र प्रदेशसभा तर्फ ८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा राप्रपा नेपालले एमालेले उम्मेदवार दिएका सबै क्षेत्रका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको पार्टीका जिल्ला अध्यक्ष खरेलले बताए । एमाले उम्मेदवार नभएका क्षेत्रहरूमा राप्रपा नेपालको उम्मेदवार कायम रहेको उनले बताए ।
झापामा उम्मेदवारी दर्ता गराउने २०७ जनामध्ये प्रतिनिधिसभातर्फ १०१ र प्रदेशसभातर्फ १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अव प्रतिनिधिसभातर्फ ९४ जना र प्रदेशसभातफ ९८ जना गरी जम्मा १९२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिएका छन् ।