झापाबाट ४ राष्ट्रिय स्तरका शिर्ष नेताको उम्मेदवारी

भद्रपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापाबाट ४ जना राष्ट्रिय स्तरका शिर्ष नेताले आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । झापा निर्वाचन क्षेत्र नं. ५ बाट निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले, निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले, क्षेत्र नं. ३ मै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले र निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शमाले मनोनयन पत्र दर्ता गरेका छन् मनोनयन दर्ता गर्न, केपि शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देन आफै उपस्थित भएका थिए भने कृष्णप्रसाद सिटौलाले वारेसनामा मार्फत मनोनयन पत्र दर्ता गराएका छन् ।

यता, उम्मेदवारी मनोनयनको अन्तिम दिनमा आएर नेकपा माओवादी केन्द्रकी संघर्षशील कार्यकर्ता धर्मशीला चापागाईँले झापा क्षेत्र नं २ को टिकट छाडेकी छन् । उनको ठाउँमा अर्जुनधारा नगरपालिकाका निवर्तमान मेयर एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य हरिकुमार राना गठबन्धनका तर्फबाट मनोनयन दर्ता गरे । रानाले गठबन्धनको उम्मेदवार बन्नका लागि हिजो बेलुका पार्टी परित्याग गरेका थिए ।

धर्मशीलाले टिकट परित्याग गरेको बारे आर्थिक कारण जनाएकी छन् । ‘मसँग १ करोड रुपैयाँ भएको भए म झापा २ मा कसैलाई टिक्न दिँदैन थिएँ’ उनले भनिन् ‘अरू १ करोड खोज्थे अनि निर्वाचन लड्थेँ ।’ आफूसँग पैसा छैन । यही सोचेर अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह गरेर आफूले टिकट छोडेको उनले बताइन् । कसैको दबाब वा प्रभावमा परेर आफूले टिकट नछोडेको उनको भनाइ छ ।