भ्रमपूर्ण सन्देश पोस्ट गरेको आरोपमा एक युवक नियन्त्रणमा

भद्रपुर । बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँ र उपमेयर नगेन्द्रप्रसाद सङ्ग्रौला दुबै हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोस्ट गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जाल फेसबुकमा मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको भन्दै युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ब्यक्ति बिर्तामोड नगरपालिका– ४ निवासी २२ वर्षीय राजु बिमली रहेका ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

बिमलीलाई आइतबार दिउँसो उनकै घरबाटै नियन्त्रणमा लिएको हो । बिमलीले शनिवार राती बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँ र उपमेयर नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर–उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोस्ट गरेका थिए । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।