नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ ः महामन्त्री शर्मा

सबै दल एक्लाएक्लै प्रतिष्पर्धामा उत्रिए

नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ ः महामन्त्री शर्मा

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा सबै दल एक्लाएक्लै प्रतिष्पर्धामा उत्रिए नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरेका छन् । नेपाली कांग्रेस झापाद्वारा आयोजित विस्तारित बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारमा रहेका दलहरुबीच चुनावी तालमेल नभए बाम गठबन्धन हुने हुँदा चुनावी एकता गनुपरेको बताए । निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गरेर सरकार बनाएपनि संसदबाट ऐन एवं विधेयक पारित गर्न कठिनाई हुने हुँदा पनि गठबन्धन आवश्यक रहेको उनको भनाई छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार भदौ १० गतेबाट देशभर एकैसाथ सञ्चालन हुन लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालनका क्रममा टोल केन्द्रित भएर कार्यक्रम गर्न निर्देशन दिदै नेता शर्माले सो क्रममा जनगुनासो सुन्दै कांग्रेस नेतृत्वको सरकारले गरेका कामको ब्यापक प्रचार गर्न पनि प्रतिनिधिहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको दोधारे चरित्रले जनतालाई दिग्भ्रमित बनाएको आरोप लगाइन् । नेपाली कांग्रेसले भदौ १० गतेबाट देशभर एकैसाथ सञ्चालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा झापा आईपुगेकी डा. संग्रौलाले नागरिकता सम्बन्धी विधेयकमा पनि ओलीले दोधारे चरित्र देखाएको दावी गरिन ।

के.पी. ओली नेतृत्वको सरकारकै पालमा बंशजको आधार, अंगिकृत नागरिकता सम्बन्धी अहिलेकै प्रावधान राखेर संसदमा विधेयक प्रस्ताव भएको दावी गर्दै सांसद समेत रहनुभएकी संग्रौलाले अन्य थुप्रै समसामयिक राजनीतिक विषयमा पनि एमालेले दोहोरो चरित्र देखाएको दोहोर्याईन् । संसद विघटन जस्तो गम्भीर विषयलाइ विना छलफल स्वीकृत गर्ने राष्ट्रपतिले दुवै सदनले पारित गरिसकेको नागरिकता सम्बन्धी विधेयक पुनः संसदमा फिर्ता पठाएर गल्ती गरेको टिप्पणी गरिन् ।

विगतका निर्वाचनहरुमा झापामा देखिएको पार्टीभित्रको अन्तरद्र्वन्द्व पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माको भावनात्मक एवं कार्यगत एकताले अन्त्य हुने बताउँदै उनले सहकार्य, एकताका लागि समन्वय गर्न समेत दुवै नेतालाई आग्रह गरिन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।