राजनीतिज्ञ सर्वज्ञाता हैनन् : महामन्त्री शर्मा
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको तीव्रतम विकास हुन नसक्नुमा राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति बाधक भएको प्रष्ट पारेका छन् ।
डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनमा चन्द्रगढीमा सम्पन्न मुलुकको समसामयिक परिस्थिति विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले विकास आयोजनाको वास्तबिकता नबुझी राजनीतिको नेतृत्व लिएका नेताहरूले सवैथोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र परेर समृद्धिको पथ भेट्न कठिन भएको प्रष्ट पारेका हुन् ।
शर्माले राजनीतिले विधि र प्रकृया निर्माण गरिदिने भन्दै दल वा सरकार फेरिएसंगै विधि र प्रकृया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरता निम्त्याएर विदेशी हस्तक्षेप बढ्ने कारण बनेकाले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको बताए । उनले नेपाल देशको आफ्नो आम्दानीले मात्र देशको विकासका लागि ठूला आयोजना सञ्चालन गर्न नसकिने भएकाले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको भन्दै मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर विजुली बेच्ने देश बनाउन एमसीसी स्वीकार गरिएको जनाए । उनले अमेरिका र चीनको अन्र्तद्वन्द्वलाई पक्ष विपक्ष बनाउन चाहनेले एमसीसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेको बताए । काँग्रेसले भोटका लागि भन्दा भविष्यका निम्ति विकास परियोजना छनौटमा लागि पर्ने बताउँदै फाष्टट्रयाक र अरूण तेस्रो आयोजना जस्तै एमसीसी पनि वैदेशिक सहयोगमा निर्मित विकासको काम भएको जनाउँदै विद्युत विकासबाट नेपालले सहजै समृद्धि प्राप्त गर्ने सुनाए ।
उनले पार्टीमा आन्तरिक चुनावका बेला गुट उपगुट देखिएको भए पनि आम निर्वाचनमा गुट उपगुटको प्रभाव नरहने भन्दै आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेरै निर्वाचनमा जाने स्पष्ट पारेका छन् । उनले काँग्रेसमा हजुरबुबा पुस्तादेखि नाती पुस्तासम्म केन्द्रीय समितिमा रहेर संगसंगै काम गरिरहेको भन्दै सवै पुस्ताको आवश्यकता बुझेर देशको नेतृत्व सम्हाल्न सक्ने आधादर्जन बढी नेता तयार रहेको उल्लेख गरेका छन् ।
शर्माले २३ वटा संसद जितेको काँग्रेसको काँधमा सरकारको भारी कम्युनिष्टको असक्षमपनबाट आइलागेको भन्दै अव सत्ता सञ्चालनको वास्तविक सारथी काँग्रेस मात्र रहेको नागरिकले बुझिसकेको उल्लेख गरेका छन् । उनले २०७४ को निर्वाचनमा कम्युनिष्टलाई भारी बहुमत दिएका नेपाली नागरिकले कोरोनाको विपतमा कम्युनिष्टहरूकै अन्तर कलह हेरेर उपचार नपाइ मर्नु पर्ने अवस्था समेत भोगिसकेको भन्दै वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको सम्झाए ।
शर्माले देशको उन्नतिका लागि कम्तिमा १५ वर्षको योजना बनाएर तीव्र गतिमा काम गर्न सक्ने हो भने नेपाल अर्काको सहयोगमा चल्नु नपर्ने भन्दै नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अधोगतिमा नरहेको भन्दै अनावश्यक हल्लाको पछि नलाग्न सवैसित अनुरोध समेत गरेका छन् । नेपालीले आफ्नै पौरखमा जित्ने दिन निर्माणका लागि सवै राजनीतिक दल एक ढिक्का भएर विकास निर्माणमा लाग्नु पर्नेमा शर्माको जोड थियो ।
नेपभल डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बार एसोसिएसन प्रदेश १ का संयोजक तथा केन्द्रीय उपाध्यक्ष सुरज खत्री, झापा बारका अध्यक्ष हरि अधिकारी, पिपिएलएका चित्रबहादुर मगर, अधिवक्ता कालिप्रसाद सञ्जेल, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबे, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलमती राजवंशी, प्रा. डा पृथ्वीविक्रम राई लगायतले धारणा राख्दै बढ्दो महंगी, भ्रष्टाचार, अस्थिर राजनीति जस्ता समस्याले नेपालमा दलप्रति वितृष्णा फैलिएकोले समयमै जनभावनाको सम्बोधन आवश्यक रहेको धारणा राखेका थिए ।