गुरू पूर्णिमाको अवसर पारेर खेलाडीले गरे गुरूको सम्मान
भद्रपुर । झापा जिल्ला जुडो तथा आर्चरी खेलसित आबद्ध खेलाडीहरूले गुरू पूर्णिमाको अवसर पारेर गुरूको सम्मान गर्दै खेल प्रदर्शन गरेका छन् ।
जोडो संघको कभर्ड हलमा आयोजित कार्यक्रममा जुडो खेलका संस्थापक जिगोरो कानोको तस्वीरमा माल्यार्पण गर्दै खेलाडीहरूले आफ्नो खेल प्रदर्शन गरेका हुन् ।
जुडो खेलका अन्तराष्ट्रिय खेलाडी आशिक लिम्बू तथा आर्चरी (धनुष वाण) खेलकी खेलाडी योगिता काँम्वाङ्गको नेतृत्वमा खेल प्रदर्शन गरिएको थियो ।
जुडो संघ झापाका अध्यक्ष प्रा.डा पृथ्वीविक्रम राईको अध्यक्षता तथा प्रमुख प्रशिक्षक गंगा खड्काको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
यसै बीच अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर सप्ताह व्यापी कार्यक्रम समेत सम्पन्न गरिएको थियो । जोडो खेलका प्रमुख प्रशिक्षक गंगा खड्काको अध्यक्षता तथा कमल गाउँपालिकाकी उपाध्यक्ष तथा पूर्व खेलाडी प्रमीला न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न खेलाडीद्वारा उत्कृष्ट खेल प्रदर्शन, ओलम्पिक कमिटीबाट प्राप्त सर्टिविकेट हस्तान्तरण लगायत कार्यक्रम गरिएको थियो ।