भद्रपुरको मत परिणाम मिश्रित ˸ भद्रपुरमा काँग्रेसबाट पहिलो नगर प्रमुख बने पोखरेल

भद्रपुर । नेपालकै पुरानो नगरपालिकाको इतिहास बोकेको भद्रपुर नगरपालिकामा २०४९ सालयता बलियो पकट बनाएको नेकपा एमालेले यसपटक हार व्यहोरेको छ ।

पहिलो स्थानीय तह निर्वाचन २०७४ मा नगरप्रमुख तथा उपप्रमुख दुई वटै पद जितेको एमालेले यसपटक दुवै मुख्य पद जोगाउन सकेन ।

बुधवार राति सार्वजनिक मत परिणामअनुसार यहाँ कांग्रेसले मेयर र राप्रपाले उपमेयर जितेको छ । निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पनि उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले पराजय हुनु पर्यो । उनलाई राप्रपाकी महिला उम्मेदवारले हराइन् ।

अघिल्लो पटक नराम्ररी हार व्यहोरेको कांँग्रेसले यसपटक नगरप्रमुख जितेपछि कांग्रेसी नेता कार्यकर्ता उत्साहित देखिएका छन् । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गणेश पोखरेलले एमालेका अशारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गरे । उनले १२ हजार ५२५ र राजवंशीले ९ हजार ७५९ मत प्राप्त गरेका छन् । अघिल्लो पटकको निर्वाचनमा पनि उम्मेदवार रहेका गणेश पोखरेल त्यसबेला एमालेका उम्मेदवार जीवनकुमार श्रेष्ठसँग पराजित भएका थिए । दुईतिहाइ पद सहित काँग्रेसका उम्मेदवार हराएका श्रेष्ठले भद्रपुरबासीको मतभारलाई सही सदुपयोग गर्न नसकेपछि आफ्नो कार्यकालसंगै एमालेको नेतृत्व आउन नसक्ने वातावरण निर्माण हुँदा काँग्रेसका पोखरेललाई जीत निकाल्न सहज वातावरण निर्माण हुन पुग्यो ।

नगर प्रमुखको लडाइँमा अघिल्लो पटक चौथो बनेको राप्रपा अहिले तेस्रो बन्यो । राप्रपाका उम्मेदवार नवराज पनेरुले ६ हजार ३१० मत पाए । २०७४ को निर्वाचनमा कृष्ण सिटौलाले कांग्रेसबाट मेयरको टिकट नदिने छाँट पाएपछि असन्तुष्ट भएर उनी राप्रपामा हामफालेका थिए । राप्रपामा स्वागत गर्दै राजेन्द्र लिङ्देनले त्यही चुनावमा पनि उनलाई मेयरको टिकट दिएका थिए । उपमेयरमा भने यहाँ राप्रपाले जादु ग¥यो । निर्वाचनमा एक्लै लडेको राप्रपाले कांग्रेस–माओवादी गठबन्धन र एमाले उम्मेदवारलाई पनि पराजित गरेको हो । उपमेयर निर्वाचित राप्रपाकी राधा कार्कीले ६९७ मतान्तरले गठबन्धन (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीलाई किनारा लगाइन् । राधाले ९ हजार २३० मत ल्याउँदा शिवकुमारले ८ हजार ५३३ मत प्राप्त गरे । उपमेयरमा पराजित शिवकुमार अघिल्लो पटक माओवादी केन्द्रबाटै मेयरमा लडेर तेस्रो भएका थिए । एमालेकी उपमेयर उम्मेदवार कौशल्या अधिकारीले ८ हजार ४०३ मत ल्याउँदै तेस्रो भइन् ।

यस्तै भद्रपुर नगरपालिका १ नम्वर वडाको मत परिणाम अनुसार नेकपा एमालेका सवै उम्मेदवार निर्वाचित भएका छन् । २ हजार ८ सय ९३ मत खसेको भद्रपुर १ मा नेकपा एमालेका सवै उम्मेदवार विजयी भएका हुन् ।

मत परिणाम अनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारी ९ सय ३७ मतका साथ विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी रूपमा राप्रपाका दलवहादुर लिम्बू ’शंकर’ ले ६ सय ५८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मेदिनीप्रसाद शिवाकोटीले ५ सय ७७ मतमा सिमित हुनु परेको छ । वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै भद्रपुर २ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका रामबहादुर कँडेल निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय भद्रपुरको पछिल्लो विवरण अनुसार कँडेलले १३०९ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर सुब्बाले १०७० मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेद्वार ८८६ मतमा सिमित भएका छन् । सुब्बा निर्वतमान वडाध्यक्ष समेत हुन् । भने कँडेल नेपाली काँग्रेस भद्रपुरका सभापति हुन् ।

यसैगरी महिला सदस्यमा नेकपा एमालेकी ममता लिम्बु ११२१ मतका साथ विजय भइन् भने उनको निकट प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वारले ९४७ मत पाएकी थिइन् । त्यस्तै दलित सदस्यमा एमालेकी उम्मेद्वार देविका बसेल ११३४ मतका साथ विजय भइन् भने निकट प्रतिस्पर्धीमा राप्रपाका उम्मेद्वार ९२६ मा सिमित बनिएकी छन् । यस्तै खुल्ल वडा सदस्यमा एमालेकै द्रोणप्रसाद कोइराला ११०६ मत र लिलाराज निरौला १०८५ मतका साथ विजयी भएका छन् । दुवै उम्मेद्वारका प्रतिस्पर्धी राप्रपाका उम्मेद्वार रहेका थिए ।

भद्रपुर ३ नम्वर वडामा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय युवा हेमबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका ३८ वर्षीय युवा शमशेर तामाङ र एमालेकी निर्वतमान वडाध्यक्ष कमला थुलुङ राईलाई पराजित गरेका हुन् ।

तामाङ काँग्रेसका वडा सभापति हुन् भने थुलुङ निवर्तमान वडा अध्यक्ष रहेकी थिइन् । कार्की १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन् । त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९५५ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन् । महिला सदस्यमा भुबामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याई राप्रपाबाटै निर्वाचित भएका छन् ।

भद्रपुर ४ को वडाध्यक्षमा हंशधर राजवंशी निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेद्वार भएका राजवंशीले १२ सय ६६ मतका साथ नेकपा एमालेका पूर्णबहादुर खजुमलाई ९ सय ३५ मा सिमित गर्दै निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेद्वार रहेका राजवंशी निवर्तमान वडाध्यक्षमा समेत हुन् ।

यसैगरी खुल्ला वडा सदस्यहरुमा नेकपा एमालेबाट अर्जुन बानिया ८ सय ९८ र माधवप्रसाद अधिकारी ९ सय ४२ मतका साथ विजयी भएका छन् भने महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी सविता पुरी १ हजार २० मतका साथ विजयी भइन् । त्यसैगरी महिला दलित सदस्यमा नेकपा एमालेकी सावित्रा वि.क. ८ सय ६५ मतका साथ विजयी भएकी छिन् ।

यस्तै भद्रपुर नगरपालिका ५ नम्वर वडाको मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार बन्धु कार्की प्यानल सहित विजयी भएका छन् । ३ हजार १ सय ४१ मत खसेको भद्रपुर ५ मा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका अधिकाम्स उम्मेदवार विजयी भएका छन् ।

मत परिणाम अनुसार नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार बन्धु कार्की १ हजार ४ सय ३७ मतका साथ विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी रूपमा राप्रपाका देवु घिमिरेले १ हजार १ सय ५८ मत प्राप्त गरेका छन् । एमालेका रेवतीरमण खनाल २ सय ७७ मतमा सिमित हुनु परेको छ । वडा सदस्यहरूमा काँग्रेस गठबन्धनका ३ जना र एकजना राप्रपाका निर्वाचित भएका छन् ।

भद्रपुर ६ मा नेपाली काँग्रेसका उम्मेदवार रतिया राजवंशी निर्वाचित भएका छन् । गठबन्धनको नेतृत्व गरेका राजवंशी २ जना सदस्य सहित विजयी भएका हुन् ।

भद्रपुर ७ मा राप्रपाका उम्मेदवार अभिषेक ढुंगाना निर्वाचित भएका छन् । एक्लो वडा अध्यक्ष निर्वाचित भएका ढुंगानाको समूहमा वडा सदस्यहरू सवै एमालेका विजयी भएका छन् ।

भद्रपुर ८ को वडाध्यक्षमा गौरव सुब्बा मनोज निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार रहेका सुब्बाको वडा सदस्यहरूमा बहुमत जित हात पारेका छन् ।

३ हजार ७ सय ६० मत खसेको भद्रपुर ९ मा नेकपा एमालेका सवै उम्मेदवार विजयी भएका छन् ।

मत परिणाम अनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार रामप्रसाद दाहालले एक हजार १ सय ५२ मतका साथ विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी रूपमा राप्रपाका नरवहादुर राई ले ९ सय ५५ मत प्राप्त गरेका छन् । नेकपा समाजवादीका जंगबहादुर रसाइलीले ६ सय ६६ मतमा सिमित हुनु परेको छ । वडा सदस्यहरूमा एमालेका खुल्ला सदस्यमा मञ्जु दाहाल पोखरेल र प्रकाश राजवंशी, महिला सदस्यमा मन्जु खड्का राउत र दलित महिला सदस्यमा सर्मिला पाँचकोटी निर्वाचित भएका छन् ।

भद्रपुर वडा नं १० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का टेक वहादुर खड्का काजीले १ हजार ४ सय ८० मतका साथ प्यानल विजयी हुन सफल भएका छन् । जसमा महिला सदस्य संगीता ढकालले १ हजार ४ सय ६४, दलित महिला सदस्य कमला आछामीले १ हजार ५ सय ३, तुलसी पोख्रेलले १ हजार ४ सय ८८ र दुर्गा प्रसाद दाहालले १ हजार ३ सय ४ मत प्राप्त गर्न सफल भएका हुन् ।

यस निर्वाचनका लागि भद्रपुरमा ५१ हजार २ सय ६० जना कुल मतदाता रहेकोमा ३४ हजार २८ मत खसेको थियो ।

झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो यसैबीच झापामा ६५ प्रतिशत मत खसेको थियो ।