नव निर्वाचित नगर प्रमुख गणेश पोखरेल को हुन् ? नगरको नेतृत्व लिदैगर्दा के भन्छन् ?

नयाँ सन्दर्भ समाचारदाता (भिडियो सहित)

भद्रपुर । वि सं २०३१ साल पौष ६ गते साविक पृथ्वीनगर ६ मा जन्मिएका नेपाली काँग्रेसका युवा नेता गणेश पोखरेल ३ दशकयता झापाको सदरमुकाम भद्रपुरलाई केन्द्र विन्दु बनाएर राजनीतिमा सक्रिय भूमिका खेलिरहेका व्यक्ति हुन् । वि सं २०४६ सालमा वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढीमा कक्षा ९ मा अध्ययन गर्दा गर्दै नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा होमिएका पोखरेल विद्यार्थी राजनीतिमा सर्वाधिक लोकप्रिय मतका साथ मेची बहुमुखी क्याम्पस भद्रपुरमा २०५७ देदि २०६१ सम्म स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको दुई कार्यकाल सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।

नेपाली काँग्रेसको ११ औं महाधिवेशनबाट झापा क्षेत्र नम्वर ३ को क्षेत्रीय सचिवको जिम्मेवारी लिएर पार्टी राजनीतिमा पूर्णकालिन सेवक भएका पोखरेल १२ औं महाधिवेशनपछि हालसम्म पनि सो क्षेत्रको क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका छन् । पहिलो स्थानीय तह गठन भएपछिको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट भद्रपुर नगरपालिकाको मेयरका रुपमा उम्मेद्वार रहेका पोखरेलले नेकपा एमालेका उम्मेदवार जीवनकुमार श्रेष्ठसित पराजित हुनु परेको थियो ।

५ वर्षे अवधिमा श्रेष्ठ नेतृत्वको नेकपा एमालेको दुई तिहाइ बहुमतको स्थानीय सरकारले जनभावना अनुकुल काम गर्न नसकेपछि यस पटकको निर्वाचनमा नेकपा एमालेलाई नगर नेतृत्व दिन अश्विकार गर्दै भद्रपुरका बासिन्दाले काँग्रेसका युवा नेता गणेश पोखरेललाई नेतृत्व सुम्पिएका छन् । यस निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको थियो । जसमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् ।

प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार अशारू राजवंशी ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् । त्यसैगरी क्रमशः राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बुले ६ सय ८, जनता समाजवादी पार्टी, नेपालका समर कुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्रकुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ प्राप्त गरेका थिए ।

नगर नेतृत्वका लागि प्रत्यासी रहेका ७ जना उम्मेदवारलाई उछिनेर यसपटक भद्रपुरबासीको साथ र सहयोगका कारण सहज विजयी बनेका पोखरेलका प्रतिबद्धता र भावी योजना उनकै शब्दमा जस्ताको त्यस्तै………..