भद्रपुर नगरपालिकाका प्रमुखमा पोख्रेल

भद्रपुर । स्थानीय तह निवार्चत २०७९ अन्तर्गत भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् ।

भद्रपुरका नगर प्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् । प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार असारु राजव‌ंशीले ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् । त्यसै गरी क्रमश: राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बुले ६ सय ८, जनता समाजवादी पार्टी, नेपालका समर कुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्र कुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ प्राप्त गर्न सफल भएका हुन् ।

त्यसै गरी नगर उप-प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिव कुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मतका साथ उपविजेता भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कौशल्या अधिकारीले ८ हजार ४ सय ३, जनता समाजवादी पार्टी, नेपालका नुतन झाले ४ सय ३०, राष्ट्रिय जनमुक्ति पार्टीका मञ्जु वर्माले ३ सय ४१, मंगोल नेशनल अर्गनाइजेसनका यम कुमरी लिम्बु ३ सय ३६, मौलिक जरोकिलो पार्टीका कृष्ण देवी चुडाल ओलीले ३८ मत प्राप्त गर्न सफल भएका हुन् ।

भद्रपुर वडा नं १० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का टेक वहादुर खड्काले १ हजार ४ सय ८० मतका साथ प्यानल विजयी हुन सफल भएका छन्, जसमा महिला सदस्य संगीता ढकालले १ हजार ४ सय ६४, दलित महिला सदस्य कमला आछामीले १ हजार ५ सय ३, तुलसी पोख्रेलले १ हजार ४ सय ८८ र दुर्गा प्रसाद दाहालले १ हजार ३ सय ४ मत प्राप्त गर्न सफल भएका हुन् ।

यस निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ ।

झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २ सय ८६ मतदानस्थल र ७ सय ५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो यसैबीच झापामा ६५ प्रतिशत मत खसेको थियो ।