भद्रपुर ९ मा एमालेका सवै उम्मेदवार विजयी

नयाँ सन्दर्भ समाचारदाता (भिडियो सहित)

भद्रपुर । भद्रपुर नगरपालिका ९ नम्वर वडाको मत परिणाम सार्वजनिक भएको छ । ३ हजार ७ सय ६० मत खसेको भद्रपुर ९ मा नेकपा एमालेका सवै उम्मेदवार विजयी भएका हुन् ।

मत परिणाम अनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार रामप्रसाद दाहालले एक हजार ३ सय ३४ मतका साथ विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी रूपमा राप्रपाका नरवहादुर राई ले एक हजार ८७ मत प्राप्त गरेका छन् । नेकपा समाजवादीका जंगबहादुर रसाइलीले ७ सय ८६ मतमा सिमित हुनु परेको छ । वडा सदस्यहरूमा एमालेका खुल्ला सदस्यमा मञ्जु दाहाल पोखरेल र प्रकाश राजवंशी, महिला सदस्यमा मन्जु खड्का र दलित महिला सदस्यमा सर्मिला दमाई निर्वाचित भएका छन् ।

यस्तै नगर प्रमुख पदमा भने नेपाली काँग्रेसका गणेश पोखरेलले ११ हजार १ सय १५ मतका साथ अग्रता लिइरहेका छन् भने पछिपछि रहेका नेकपा एमालेका अशारू राजवंशीले ८ हजार १ सय ४ मत र राप्रपाका नवराज पनेरूले ५ हजार ९ सय ४२ मतका साथ पछ्याइरहेका छन् । यस्तै उपप्रमुखमा राप्रपाकी राधा कार्कीलाई ८ हजार ४ सय ७ मतका साथ अग्र स्थानमा छिन् भने नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ७ हजार ८ सय ७९ मतका पछ्याइरहेका छन् । यसंगरी नेकपा एमालेकी कौशिला अधिकारीलाई ६ हजार ९ सय ३८ मतमा दौडिरहेकी छिन्

यस निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ । जसमा ३० हजार १ सय ९१ मत गणना भइसकेको छ ।

झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो यसैबीच झापामा ६५ प्रतिशत मत खसेको थियो ।