भद्रपुरमा माओवादीले खाता खोल्यो
नयाँ सन्दर्भ समाचारदाता (भिडियो सहित)
भद्रपुर । भद्रपुर ४ को वडाध्यक्षमा हंशधर राजवंशी निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेद्वार भएका राजवंशीले १२ सय ६६ मतका साथ नेकपा एमालेका पुर्ण बहादुर खजुमलाई ९ सय ३५ मा सिमित गर्दै निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेद्वार रहेका राजवंशी निवर्तमान वडाध्यक्षमा समेत हुन् ।
यसैगरी वडा सदस्यहरुमा नेकपा एमालेबाट अर्जुन बानिया ८ सय ९८ र माधव प्रसाद अधिकारी ९ सय ४२ मतका साथ विजयी भएका छन् भने महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी सविता पुरी १ हजार २० मतका साथ विजयी भइन् । त्यसैगरी महिला दलित सदस्यमा नेकपा एमालेकी सावित्रा वि.क. ८ सय ६५ मतका साथ विजयी भएकी छिन् ।
यसैगरी नगर प्रमुख तथा उपप्रमुखको पछिल्लो मत परिणाम अनुुसार नेपाली कांग्रेसका गणेश पोखरेलले ४ हजार ४ सय ९९ मत पाएका छन् भने नेकपा एमालेका असारु राजवंशीले ३ हजार ६ सय ४५ र राप्रपाका नवराज पनेरुले २ हजार ८ सय ७९ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ४ हजार १ सय २२ मतका साथ अग्र स्थानमा छन् भने राप्रपाकी राधा कार्कीले ३ हजार ३ सय ११ मत र नेकपा एमालेकी कौसिल्या अधिकारीले ३ हजार २ सय ८७ मतका साथ पछ्याइरहेका छन् ।