इतिहास रच्दै राप्रपाले भद्रपुर ३ मा सवै पदमा विजयी

भद्रपुर । भद्रपुरमा राप्रपाले विजयी यात्रा सुरू गरेको छ । काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले विजयी सुरुवात गरेको हो ।

भद्रपुर ३ नम्वर वडामा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय युवा हेमबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका ३८ वर्षीय युवा शमशेर तामाङ र एमालेकी निर्वतमान वडाध्यक्ष कमला थुलुङ राईलाई पराजित गरेका हुन् ।

तामाङ काँग्रेसका वडा सभापति हुन् भने थुलुङ निवर्तमान वडा अध्यक्ष रहेकी थिइन् । कार्की १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन् । त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९८८ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन् । महिला सदस्यमा भुबामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याई राप्रपाबाटै निर्वाचित भएका छन् । यो संगै भद्रपुर नगरमा राप्रपाले पहिलो पटक जितको इतिहास बनाएको छ ।