स्थानीय सरकारमा बहुमत अल्पमतको अर्थ छैन नेता सिटौला

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले स्थानीय तह आफैंमा अधिकार सम्पन्न स्थायी सरकार भएकाले बहुमत अल्पमतको कुनै अर्थ नरहने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा मतदान गर्न भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान केन्द्र आइपुगेका सिटौलाले सञ्चारकर्मीको गठबन्धनले बहुमत ल्याउँछ भन्ने प्रश्नको उत्तर दिने क्रममा यस्तो बताएका हुन् ।

संघीय र प्रदेश तहमा गठबन्धनको अर्थ र महत्व रहने भए पनि स्थानीय तहमा सहकार्य र एकताका लागि चुनावी गठबन्धन गरिएको प्रष्ट पार्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले संघीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने स्पष्ट पारेका छन् ।

उनले स्थानीय सरकाका लागि गरिएको सहकार्य र गठबन्धन देश भर सफल हुने विश्वास गर्दै स्वायत्त स्थानीय निकायका लागि एकताबद्ध राजनीतिक संस्कार निर्माणमा यो निर्वाचन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । गृहमन्त्रनलय समेत सम्हालिसकेका सिटौलाले संघीयता सहितको गणतन्त्रको मुद्धा उल्ट्याउने प्रतिगामी सोचको कुनै पनि दुस्साहस अव सफल हुँदैन भन्ने सन्देश स्थानीय तह निर्वाचन मार्फत प्राप्त हुने प्रष्ट पारे ।