बोयर बाख्रा मार्फत समृद्धि जोड्दै खेमराज

भद्रपुर । नेपाली समाजले कृषि र पशुपालन व्यवसायलाई उन्नत कार्यका रूपमा हेर्दैन । यी दुई व्यवसाय नै देशको समृद्धि हो भन्ने नबुझेको यस समाजमा कृषि र पशुपालनको माध्यमबाट समृद्धिको सहज यात्रा तय गर्ने हिम्मत कमैले लिएका हुन्छन् । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकाम्स नेपाली युवा सुनौलो भविष्यको खोजी गर्न भन्दै परदेशको माटोमा दौडन्छन् । अधिकाम्स युवा स्वदेशमा अवसर र सुनौलो भविष्य नदेखेर विदेश मोहमा दौडेका हुन् । तर, आफ्नै जन्मभूमिमा बसेर भविष्य सुनौलो बनाउन सकिने सोच पालेका थोरै युवाहरूको रगत पसिना समृद्ध नेपालका लागि इटा सावित भएका केही नमूना पनि छन् । यस्ता परिश्रमी युवाका सफलताका कथा विरलै सन्न र देख्न पाइन्छन् ।

यस्तै युवाहरू मध्येमा रहेका झापा हल्दिवारी २ का ४२ वर्षीय खेमराज वनको ४ वर्षयता सञ्चालनमा रहेको उन्नत बाख्रा पालन व्यवसायलाई नमुनाका रूपमा हेर्न सकिन्छ । स्थानीय जातका बाख्राबाट व्यवसाय सुरू गरेका वनले वि सं २०७४ सालबाट उन्नत नश्ल पहिचानका क्रममा ९ वटा १०० प्रतिशतका बोयर जातका बाख्रा र एउटा सतप्रतिशतको बोयर बोकाबाट उन्नत बाख्रा पालन सुरू गरेका हुन् । उनले आफ्नो व्यवसाय बढाउँदै वार्षिक ७० लाख बढीको उन्नत बाख्रा फर्म मार्फत कारोवार गर्ने गरेका छन् ।

उनका उमेरका अधिकाम्स व्यक्ति देश छोडेर विदेशमा रोजगारीमा छन् । उनलाई पनि बाख्रा पालन सुरू गर्दा आफन्त तथा साथीभाइले उभो नलाग्ने व्यवसाय भनेर निरुत्साहित गर्नेको लामै ताँती थियो तर स्वदेशमै बसेर केही न केही व्यवसाय मार्फत समृद्धिको बाटो बनाउने सपना पालेका वनले कृषि भित्र पर्ने पशुपालनको माध्यम समातेर ४ वर्षमा उन्नतिको पथ निर्माण गरिसकेका छन् ।

वन कृषि फर्म नाम दिएर स्वरोजगार गरिरहेका खेमराज परम्परागत शैलीभन्दा केही भिन्न विधि अपनाएर उन्नत बाख्रा पालनमा जुटेका छन् । उनले घाँस र दाना दुवैमा आधारित बाख्रा पालन गरिरहेका छन् । १३० वटा बाख्रा रहेको उनको फार्ममा आफू बाहेक ३ जनाको पूर्ण रोजगारी सुनिश्चित भएको छ । अहिले उनका फरममा ५० प्रतिशत ७५ प्रतिशत, ८७ प्रतिशत, ९३ प्रतिशत र शत प्रतिशत गरी विभिन्न श्रेणीका उन्नत बोयर जातका बाख्रा छन् ।

ससानो बाहेक राज्यबाट आशाातित सहयोग नपाएको खेमराजको फार्मबाट उत्पादित पाठापाठीको प्रतिशतका आधारमा मूल्य निर्धारण गरेर बेच्ने गरेका छन् । स्थीर बजारीकरणको माध्यम नभएका कारण सम्पर्क माध्यमबाट वजारीकरण गरिरहेका उनलाई पछिल्लो समय खोजेका बेला कामदार नपाएको तीतो अनुभूति पनि छ । घर दैलोको स्थानीय सरकारको समेत नजर नपरेको उनको बाख्रापालन व्यवसाय आफ्नै बलबुताको प्रयासमा चलिरहेको छ ।

उनको व्यवसायिक फर्ममा निहाल्ने हो भने कृषि र पशुपालनमा भविष्य नदेख्नेका लागि मेहनत गरे उन्नति गर्न सकिने उदाहरण समेत देख्न सकिन्छ । उनी आफ्नै देशमा बसेर पनि राम्रो उन्नति गर्न सकिने बताउँदै नाम र दाम कमाउन विदेश धाउनु नपर्ने धारणा राख्छन् । गाउँ सरकारबाट बाख्राका लागि उपचार गर्नु पर्दा प्राविधिक सहयोग पाइरहेको बताउने वन उच्च स्तरको उपचार सेवा प्रवाहको अवस्था भने नरहेको बताउँछन् ।

एउटा व्यक्तिको प्रयासमा पनि व्यवसायिक उन्नतिले समाज रूपान्तरणमा छिटो गतिलिने विश्वास राख्ने जो कोहीका लागि वन कृषि फर्म नमूना बाख्रा पालन व्यवसाय हुन सक्छ ।