भद्रपुरमा पोखरेल र राजवंशी बीच कडा टक्टर हुने संभावना
भद्रपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दलहरूले भित्री रूपमा चुनावी तयारी तीव्र पार्न थालेका छन् ।
झापाका अन्य पालिकाहरूमा जस्तै भद्रपुर नगरमा पनि दलहरू अहिले गठबन्धन गर्ने वा एक्लै चुनावी अभियानमा लाग्दा उपयुक्त र जित्ने उम्मेदवारको पहिचान गर्ने र मतदातालाई आफ्नो पक्षमा पार्न वैठक, घरदैलो गरी पार्टीको पक्षमा जनमत जुटाउने कार्य तीव्र बनाइरहेका छन् ।
नेपाली कांग्रेसले चुनावी रणनीतिका रूपमा नयाँ वर्षलाई अवसर वनाउन शुभकामना आदान प्रदान गर्न घरदैलो अभियान सञ्चालन गरिरहेको छ भने नेकपा एमालेले लगभाग एकचरण घरदैलो अभियान पूरा गर्दै दोश्रो रणनीतिक अभियानको दौरानमा छ ।
भद्रपुरमा नगरपालिकाको मेयरका लागि काँग्रेसका गणेश पोखरेल प्रवल दावेदार मानिएका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेका उम्मेदवार जीवनकुमार श्रेष्ठको निकटतम प्रतिष्पर्धी रहेका पोखरेल अहिले नेपाली काँग्रेसका ३ नं.क्षेत्रीय सभापति हुन् । उनका पछिपछि नगर प्रमुखका लागि पूर्व प्रमुख भारतेन्दुकुमार मल्लिक, भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा रेडक्रसकर्मी भक्त खवास र उपप्रमुखमा उठेर अघिल्लो पटक पराजित भएका पूर्व नगर सभापति राजेन्द्र घिमिरेको पनि दावी रहेको छ, तर पोखरेलको तुलनामा तीनै जनाको दावी निरीह बन्ने देखिन्छ ।
नेकपा एमालेले भद्रपुर नगर प्रमुखका लागि शुक्रवार गरेको पार्टी प्रतिनिधिको मतदानबाट अशारू राजवंशी पहिलो, चन्द्रमाया श्रेष्ठ दोश्रो र कालिचरण बस्नेतले तेस्रो मत पाए भने वर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ चौथो, रामप्रसाद दवाडी पाँचौर टिका प्याकुरेल छै्रटौ मतभार पाएको पार्टी निकट श्रोतले बताएको छ । यस आधारमा हेर्दा अशारू राजवंशी नै नगर प्रमुखको उम्मेदवार बन्ने संभवना दरिलो देखिएको छ । उपप्रमुखमा कांग्रेसले गठबन्धनका लागि ठाउँ छोडेको छ । यसकारण उपप्रमुखका लागि कसैको नाम प्रचारमा ल्याएको छैन ।
नेकपा एमालेबाट उपमेयरमा कौशिला अधिकारीले सबैभन्दा धेरै मत प्राप्त गरेर पहिलो नम्वरमा परेकी छिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मत पाएका छन् । यस आधारमा कौशिला नै नगर उपप्रमुखको उम्मेदवार बन्ने प्रवल संभावना देखिएको छ ।
राप्रपा, माओवादी केन्द्र, नेकपा एस., संघीय समाजवादी लगायत दलरूले उठाउने उम्मेदवारको टुंगो नलागेकै कारण चर्चा समेत कम रहेको अवस्था छ ।