प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार
झापाबाट ओमप्रकास सरावगी र झलक बहादुर मगर
बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर (सन्देस) , शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् । झापाबाट सरावगी र मगर समेटिएका छन् ।
गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । केहीअघि बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेर क्याबिनेट जम्बो बनाइएको हो । इन्द्रबहादुर आङवो —आर्थिक मामिला , हिमाल कार्की —सडक पूर्वाधार तथा सहरी , केदार कार्की —आन्तरिक मामिला , जयराम यादव —स्वास्थ्यमन्त्री, यसअघि नै बनेका थिए ।
आज थपिएका रामकुमार राई —खानेपानी तथा सिंचाई तथा ऊर्जा , राजन राई —सामाजिक विकास ,खिनु लिम्बू —पर्यटन तथा संस्कृति , झलकबहादुर मगर —कृषि, शेखरचन्द्र थापा —बन ,वातावरण तथा भूसंरक्षण, ओमप्रकाश सरवागी —उद्योग, श्रम तथा रोजगार , प्रतापप्रकाश हाङगाम —भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे —यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।