कांग्रेसलाई ठूलो र बलियो पार्टी बनाएर बधाई लिनेछु ˸ महामन्त्री विश्वप्रकाश शर्मा
झापा । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताएका छन् ।
महामन्त्री पदमा निर्वाचित भएपछि पहिलोपल्ट गृह जिल्ला आएका शर्माले झापा र झापालीलाई आभार व्यक्त गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनःस्थापनाको भ्रम नफैल्याउन आग्रह गरेका हुन् ।
संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाई गर्ने उनको भनाइ थियो ।
“ठूलो पदमा पुगेँ भनेर म आफू जन्मेको जिल्लामा बधाई थाप्न पनि आएको होइन”, महामन्त्री शर्माले भने, “जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यही बेला बधाई पाउने हक राखुँला तर अहिलेलाई तपाईंहरुप्रति हार्दिक आभार व्यक्त गर्न आएको हूँ, शुभकामना लिन आएको हूँ ।”