सन्थाल समुदायको पहिचानमाथि अतिक्रमण नगर्न चेतावनी

भद्रपुर । सन्थाल समुदायले आफ्नो पहिचानमाथि अतिक्रमण भएको भन्दै पहिचान स्थापनाका लागि विरोध प्रदर्शन गरेका छन् ।

‘हाम्रो पहिचान सन्थाल हो, सतार होइन’ भन्दै सन्थाल समुदायले झापा सदरमुकाम भद्रपुरमा बृहत् शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

मोरङको सुनवर्षी नगरपालिका–१ स्थित केन्द्रीय कार्यालय रहेको रिलोमाला सन्थाली अखडा नेपालले सन्थाल जातिको अधिकार, अस्तित्व, इतिहास र पहिचानलाई तोडमोड गरी लेख र अभिलेख राखिएको विरोधमा चन्द्रगढी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्ना दिएका थिए ।

झापा र मोरङका विभिन्न स्थानबाट सयौँ सङ्ख्यामा भेला भएका सन्थाल जातिका व्यक्तिले प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए ।

र्यालीसहितको धर्ना कार्यक्रमपश्चात् रिलोमाला सन्थाली अखडा नेपालका अध्यक्ष श्यामलाल बेख्रा र सचिव हखन हास्दासहितको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई आठबुँदे मागसहितको ज्ञापनपत्र पठाएका छन् ।

‘ज्ञापनपत्रमा भनिएको छ —हामी यो देशका मूलवासी हौँ । हाम्रो पहिचान सन्थाल हो, सतार हैन । सन्थालको जात, धर्म, भाषा, संस्कार र संस्कृति स्पष्ट उल्लेख हुनुपर्छ। (सतार÷सन्थाल) यस्तो हुनु हुँदैन। स्पष्ट रूपमा सन्थाल मात्र हुनुपर्छ। जातमा सन्थाल, भाषामा सन्थाली, लिपिमा अलचिकी र धर्ममा सारना रहनु पर्छ ।