भद्रपुर नगरपालिकाले प्रथम बालमैत्री दिवस विविध कार्यक्रम गरी मनायो

भद्रपुर । ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका बोकेर प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध कार्यक्रम गरेर मनाएको छ ।

नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा भद्रपुरको शैक्षिक विकासमा सहयोग पुर्याउने समाजसेवी दीनबन्धु गोयललाई समन गरिएको थियो भने समाजसेवी परशुराम अग्रवाल र दीप लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो बालमैत्री गीतका रचनाकार सत्य राजवंशी, संगीतकार हरि पौडेल, बालमैत्री बानी व्यवहार प्रदर्शन गर्ने शिक्षकका रुपमा वीरेन्द्र माविका शिक्षक गंगा घिमिरे, पूर्व शिक्षक कैलाश राईलगायत भद्रपुरको बालमैत्री अभियानमा सक्रिय साथ सहयोग पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्व तथा संघ संस्थालाई सम्मान गरिएको थियो । दिवसकै सन्दर्भ पारेर एक सातासम्म सञ्चालन गरिएका विभिन्न विधाका प्रतियोगिताका विजयी बालबालिकालाई पुरस्कृत गरिएको थियो ।

यसैगरी नगर बाल सञ्जालको तर्फबाट नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ र बालमैत्री अभियानका फोकल पर्सन टिकाराम पाण्डेलाई विशेष सम्मान गरिएको थियो ।

सोही अवसरमा ६ जना विपन्न विद्यार्थीलाई साइकल वितरण गरिएको थियो ।

समारोहमा प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं, बालमैत्री अभियानकर्मी सुमन ढकाल, इटहरी नगर बाल सञ्जालका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए ।