जनगणनाको दोश्रो चरण सुरू
भद्रपुर । झापा जिल्लामा दोस्रो चरणको जनगणनाको तथ्याङ्क संकलन भद्रपुरबाट सुरू भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले आ-आफ्नो सम्पूर्ण विवरण भराएर भद्रपुरबाट कार्यक्रमको सुरूवात गरेका हुन् ।
जिल्ला जनगणना कार्यायल भद्रपुरका प्रमुख चुडामणि लुईटेलले प्रजिअ तिम्सेनाको विवरण भरेका थिए भने नगर प्रमुख जीवनकुमार श्रेष्ठको विवरण गणक मुना खतिवडाले तयार गरेकी थिइन् ।
विहान ८ वजे सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, स्थानीय सञ्चारकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा एक हजार ४ सय ५२ जना सुपरिवेक्षक र गणक परिचालन गरिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । पहिलो चरणमा सुवरिवेक्षकले संकलन गरेको घरपरिवारका आधारमा गणकले जनसंख्यासहितको सम्पूर्ण विवरण लिइने जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुईटेलले जानकारी दिएका छन् ।
उनले प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५ सय घर परिवार संख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्नेछन् । झापामा वि.सं. २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्क अुनसार १ लाख ८४ हजार ५ सय ५५ घरपरिवार रहेका थिए । बर्तमान अवस्थमा ३४ प्रतिशत घर परिवार बढेको उनको भनाई छ ।
आजदेखि मंसीर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी दुईवटा जनगणना कार्यालय राखिएको छ । पूर्वको गणना कार्यालय भद्रपुर र पश्चिमको गणना कार्यालय दमकमा रहेका छन् । प्रमुख लुँइटेलका अनुसार जनगणनाको १२ औं शृंखला अन्तरगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिनेछ ।
शुभारम्भ कार्यक्रममा प्रजिअ तिम्सिनाले झापाबासीलाई जनगणनाका लागि विवरण दिन अपील गरेका छन् ।
अपीलमा भनिएको छ -“मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ नेपालमा अहिले १२ औं राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । जनगणनाको तथ्यांक संकलनको पहिलो चरण अन्तरगत देशैभर घरपरिवार सूचीकरण कार्य सम्पन्न भई सकेको छ । जनगणनाको मूल प्रश्नावलीले निर्दिष्ट गरेका विषयमा केन्द्रीत रहेर, तपाईं हाम्रो घर दैलोमा कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म गणकहरु घरपरिवारको पारिवारिक र व्यक्तिगत विवरण लिन (घरघरमा) आउदै हुनुहुन्छ । गणकले सोधेका प्रश्नको सही उत्तर दिंउ । तपाईंले टिपाएका तथ्यांक गोप्य रहने छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भंग गर्ने जो कोहीलाई कानून बमोजिम कारवाही हुनेछ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।”