नेतृत्वका आकांक्षीहरु अधिवेशन केन्द्रित
भद्रपुर । यसै साता शुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन नजिकिएसंगै नेताहरुको दौडधुप बढेको छ । गाउँ र नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्र तह सम्मको नेतृत्वका आकांक्षीहरु अधिवेशन केन्द्रित भएका हुन ।
कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा केन्द्रिय राजनीतिका हस्तीहरु गृह जिल्ला झापामा केन्द्रित भएका छन । सबैको ध्यान १८ भाद्रमा हुने वडा अधिवेशनमा केन्द्रित भएको छ ।
वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरु चुन्ने र चुनिनेमा होडबाजी छ । यसपटक कोरोना महामारीको कारण देखाउँदै कांग्रेसले क्रियाशील सदस्यहरु मार्फत चुनिने क्षेत्रीय प्रतिनिधिहरुलाई नै बढी अधिकार सम्पन्न बनाएका कारण क्षेत्रीय प्रतिनिधि चुन्ने र चुनिनेमा सबै तहका नेताहरुको ध्यान केन्द्रित भएको हो । १० क्रियाशील सदस्य बराबर एक क्षेत्रीय प्रतिनिधि चुनिने गर्छन त्यसकारण वडामा कायम भएका क्रियाशील सदस्य संख्याको आधारमा क्षेत्रीय प्रतिनिधि चुनिनेछन । त्यस भित्र आरक्षित कोटा समेत सुरक्षित भएको र नयाँ संरचना अनुसार प्रदेश निर्वाचन क्षेत्रको समेत निर्वाचन हुने भएकाले धेरै आकांक्षीहरुलाई व्यवस्थापन गर्न यसपटक कांग्रेसलाई सहज देखिएको छ तर क्षेत्रीय प्रतिनिधिलाई मात्रै बढी अधिकार सम्पन्न बनाइएकोमा भने कतिपय कार्यकर्ताहरु असन्तुष्ट देखिन्छन ।
यो अधिवेशनमा महत्वपूर्ण खुडकिलो मानिएको क्षेत्रीय प्रतिनिधि चुनिनका लागि झापामा कतिपय नेताहरुलाई भने निर्वाचन निर्देशिकाले सहज बनाइदिएको छ । पार्टीको तर्फबाट संघ र प्रदेश तहको निर्वाचन लडेका प्रत्यासी उम्मेदवारहरु र सांसद भने स्वत क्षेत्रीय प्रतिनिधि हुनेछन ।