प्राकृतिक प्रकोप नियन्त्रणमा सवै सचेत हुन जरूरी
उपयोग गर्न सक्दा प्रकृति मानवका लागि सुखमय जीवन हो तर, मान्छे आफ्नो जीवनका रूपमा रहेको प्रकृतिमाथि अतिक्रमण गरेर विजय हाँसिलको दौडमा लाग्दा प्रकृतिले प्रकोपको स्वरूप धारण गर्ने गरेको छ । प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो, वर्षा, खडेरी, हिमपात, हुरीबतास जस्ता कुराहरू पर्दछन् । प्राकृतिक प्रकोप मानिसहरूको बसमा हुदैन तर मानिसले चाहेमा यसको न्यूनीकरण गर्न सक्दछ । धनजनको क्षतिबाट जोगिन सक्दछ । प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी मानव जीवनलाई तहसनहस बनाउँदछ । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढी जनमानसलाई दुःख दिने बाढीपहिरो प्रमुख रूपमा रहेको छ ।
हरेक वर्ष वर्षा लागेपछि बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएका समाचार हामी सुन्दै आइरहेका छौं । यस्तो बाढीपहिरोलाई न्यूनीकरण गर्न बाढी आउने ठाउँमा वृक्षारोपण गर्नुपर्दछ । खोलाका किनारामा तटबन्ध बाँध्नुपर्दछ । वन जङ्गलको संरक्षण गर्नुपर्दछ । खोला किनाराबाट अत्यधिक बालुवा, गिटी निकाल्नुहुँदैन । पहिरो जाने ठाउँमा पानीको निकास छोड्नुहुँदैन ।
पहिरो जाने क्षेत्रमा वर्षाको समयमा खेतीपाती पनि गर्नुहुँदैन । खेतीपातीले गर्दा माटो कमलो भई पहिरो जाने झन् बढी सम्भावना रहन्छ । यस्ता आधारभूत ज्ञान हामीले ग्रहण नगर्दा हरेक वर्ष सयौंले ज्यान गुमाउने हजारौंले घरबास छोड्नु पर्ने, हजारौं रोपनी खेती योग्य जमीन सधैंका लागि गुमाउनु पर्ने विषम परिस्थिति सही रहेको अवस्था छ । यस्तो अवस्था कम गर्न राज्यले पनि उचित योजना, नीति नियम निर्माण गर्न सकेको अवस्था छैन ।
अत्यधिक जनसङ्ख्या वृद्धि, वातावरणीय सन्तुलनको अभावमा नेपालमा हरेक वर्ष अत्यधिक वर्षा तथा खडेरी पर्न थालेको छ । यस विषयमा हामी नेपालीले सजग र सचेत भएर सोच्न जरुरी भइ सकेको छ । त्यस्तै वातावरणीय सन्तुलनको अभावमा हिमपात हुने र हुरीबतास आउने क्रम पनि बढ्दो छ । यस्ता प्राकृतिक प्रकोपबाट बच्न, आउने सम्भावित खतराबाट बच्न सुरक्षित बसाइको व्यवस्था गर्नु जरुरी छ ।
यदि बसाइ सुरक्षित भएन भने मानवको जीवन र धनको क्षति हुन सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन । यस वर्षको वर्षादका तीन महिनामा पूर्व मेचीदेखि महाकालीसम्म हजारौं नागरिक बाढी र पहिरोबाट प्रताडित भएका तथ्यहरू आलै छन् । अरबौंका भौतिक संरचना क्षतविच्छेद हुँदा विकासका गतिविधिमा समेत अवरोध आउन पुग्यो ।
यस्ता विनासका घटना पहिलो पटक भएको भने होइनन् तर, हरेक वर्ष बढ्दो रूपमा रहँनुचाँहि चिन्ताको विषय हो । प्रकृति अनुकुल बन्न सक्दा प्रकोप घट्न सक्ने वैज्ञानि तर्क छ । विकासका नाममा अव्यवस्थित कटान गरेर सडक खन्ने, वन जंगल मास्ने, खोला—नदी दोहन गर्ने कार्य बाढी पहिरोको स्वरूपमा परिवर्तन भएको सत्यलाई बिर्सनु हुँदैन । हरेक वर्ष बढ्दै गइरहेको प्राकृतिक प्रकोप नियन्त्रण गर्न सवै पक्ष सचेत हुन जरूरी छ ।